इटहरी /काठमाडौं प्रहरीले एक करोड १० लाख ७० हजार रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङको निलकण्ठ नगरपालिका–२ की २२ वर्षीया रोजिना सुनार र ३८ वर्षीय चिनियाँ नागरिक जियाओ याङ रहेका छन्। उनीहरूलाई प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, पक्राउ परेकामध्ये रोजिना सुनार बैंकिङ कसुरमा फरार प्रतिवादी रहेको खुलेको छ। उनका विरुद्ध प्रहरी वृत्त गौशालामा क्रमशः २०७९ असोज ४ र फागुन १० गते दुईवटा मुद्दा दर्ता भएको पाइएको छ।
प्रहरीले उनीहरूको साथबाट ठूलो मात्रामा नगदका साथै सुनका गरगहना पनि बरामद गरेको छ। बरामद गरिएका सामग्रीमा सुनका बाला २ थान, झुम्का ४ थान, औंठी ३ थान, नथ, सिरबन्दी, साथै ५ थान मोबाइल फोन, एप्पल म्याकबुक १ थान, र बागमती प्रदेश–०१–०३१ च ५२६२ नम्बरको BYD कार रहेको प्रहरीले जनाएको छ।
उनीहरूलाई हुण्डी कारोबार (अवैध रकम सञ्चार) गरेको आशंकामा पक्राउ गरिएको हो। यस सम्बन्धमा थप अनुसन्धानका लागि ८ दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ !





