विराटनगर /नेपालमा उत्पादन भएको विद्युत भारत र बंगलादेश निर्यात भइरहेको बेला सुनसरी–मोरङ औद्योगिक करिडोर भित्रका उद्योगहरू भने दैनिक पटक–पटक दोहोरिने ट्रिपिङ समस्याबाट प्रताडित भइरहेका छन्।

उद्योग संगठन मोरङ का नवनिर्वाचित अध्यक्ष नन्दकिशोर राठीले वर्षायाम सुरु भइसकेको, जलविद्युत उत्पादन पर्याप्त रहेको र नेपाल विद्युत प्राधिकरणले आपूर्तिको आश्वासन दिएको अवस्थामा समेत औद्योगिक क्षेत्रमा ट्रिपिङको समस्या निरन्तर रहनु दुःखद भएको बताए।

उद्योग संगठन मोरङले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “विद्युत प्राधिकरणले देशभित्र पर्याप्त आपूर्ति हुने भरोसा दिलाउँदै भारत र बंगलादेशमा निर्यातको ढोका खोलिरहेको समयमा, स्वदेशी उद्योगहरू बारम्बार ट्रिपिङको मारमा परिरहेका छन्।”

राठीका अनुसार, बारम्बारको ट्रिपिङले उद्योगका मेसिन बिग्रने, उत्पादनको क्रममा रहेको कच्चा पदार्थ नष्ट हुने, उत्पादन लागत अस्वाभाविक रूपमा बढ्ने, र समग्रमा उद्योगहरूको आर्थिक अवस्था कमजोर हुँदै गएको अवस्था छ। उनले भने, ूविद्युत भरपर्दो नभएको कारण, उद्योगहरू पुनः डीजल जेनेरेटरमा निर्भर भइरहेका छन्, जसले लागत बढाउनुका साथै वातावरणीय असरसमेत पारिरहेको छ।ू

वर्षायाममा पानीको बहावले विद्युत उत्पादन क्षमता वृद्धि भएको अवस्थामा पनि विद्युत आपूर्तिमा सुधार नहुनुमा प्राधिकरणको लापरवाही देखिएको भन्दै दीर्घकालीन समाधानको माग गरिएको छ।

संगठनले भनेको छ, “सुख्खायाममा लोडसेडिङ र वर्षायाममा ट्रिपिङ—दुवै अवस्थामा उद्योगहरू घाटामा छन्। यस्तो अवस्थामा लगानीको वातावरण सुदृढ हुने अपेक्षा गर्न सकिँदैन।”

अन्त्यमा, “विद्युत आपूर्ति समस्या तत्काल सम्बोधन नगरे प्रादेशिक अर्थतन्त्रमा गहिरो असर पर्न सक्छ” भन्दै उद्योग संगठन मोरङले नेपाल विद्युत प्राधिकरणलाई संवेदनशील र उत्तरदायी बन्न आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया