इटहरी । प्रतिनिधिसभा निर्वाचन–२०८२ अन्तर्गत झापा–५ मा नेपाली राजनीतिमा ठूलो तरंग पैदा गर्ने परिणाम आएको छ। पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाह सँग भारी मतान्तरले पराजित भएका छन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार बालेन शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दै विजय हासिल गरे भने उनका प्रमुख प्रतिस्पर्धी ओली १८ हजार ७३४ मत मा सीमित भए। यससँगै बालेनले ओलीलाई ४९ हजार ६१४ मतको फराकिलो अन्तर ले पराजित गरेका हुन्।
यो परिणामलाई नेपाली राजनीतिमा ठूलो परिवर्तनको संकेतका रूपमा हेरिएको छ। लामो समयदेखि झापा–५ बाट निर्वाचित हुँदै आएका ओली यसपटक नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारसँग पराजित भएका हुन्।
उक्त निर्वाचनमा समीर तामाङ (श्रम संस्कृति पार्टी) तेस्रो स्थानमा रहे। उनले ९ हजार २३३ मत प्राप्त गरे। त्यस्तै मन्धारा चिमरिया (नेपाली कांग्रेस) चौथो स्थानमा रहँदै १ हजार ८२१ मत प्राप्त गरिन्।
काठमाडौँ महानगरपालिकाको मेयरका रूपमा चर्चित बनेका बालेन शाहले संसदीय चुनाव घोषणा भएपछि पदबाट राजीनामा दिँदै संघीय राजनीतिमा प्रवेश गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै चुनावी अभियान चलाएको थियो।
झापा–५ को यो परिणामलाई परम्परागत दलप्रति बढ्दो असन्तुष्टि र नयाँ नेतृत्वप्रतिको जनविश्वासको संकेतका रूपमा विश्लेषण गरिएको छ। बालेनको यो विजयले नेपाली राजनीतिमा नयाँ शक्ति उदयको सन्देश दिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।





