इटहरी । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक परिणामप्रति प्रतिक्रिया दिँदै पार्टीले अपेक्षाअनुसार सफलता हासिल गर्न नसकेको स्वीकार गरेका छन्। उनले मतदाताको निर्णयलाई लोकतान्त्रिक अभ्यासको सम्मानजनक अभिव्यक्ति भन्दै त्यसलाई पूर्ण रूपमा स्वीकार गर्नुपर्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले वर्तमान परिणामलाई संयमतापूर्वक स्वीकार गर्नुपर्ने धारणा राखे। उनले २०६४ सालको निर्वाचनपछि सशस्त्र द्वन्द्वबाट आएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले ठूलो जनमत प्राप्त गर्दा अन्य दलहरूले देखाएको धैर्य र लोकतान्त्रिक संस्कार सम्झँदै अहिले पनि त्यही परिपक्वता आवश्यक रहेको उल्लेख गरे।
शर्माले यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाएको जनसमर्थन अप्रत्याशित नभएको पनि बताए। उनका अनुसार २०७९ सालको निर्वाचनमै रास्वपाले उदयको स्पष्ट संकेत दिइसकेको थियो, जसको प्रभाव अहिलेको निर्वाचन परिणाममा अझ स्पष्ट रूपमा देखिएको छ।
रास्वपा २०७९ सालको असारमा स्थापना भई त्यही वर्ष मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सहभागी भएको थियो। पहिलो पटक चुनाव लड्दा नै राष्ट्रिय दलको मान्यता प्राप्त गर्दै चौथो ठूलो दल बन्न सफल भएको थियो।
यसपटकको प्रारम्भिक मतगणना परिणामले भने रास्वपाको प्रभाव उल्लेखनीय रूपमा बढेको संकेत दिएको छ। यद्यपि अन्तिम नतिजा आउन बाँकी रहे पनि प्रारम्भिक परिणामले देशको राजनीतिक समीकरणमा ठूलो परिवर्तनको सम्भावना देखाएको विश्लेषण गरिएको छ।
२०७९ को निर्वाचनमा भने नेपाली कांग्रेस प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल बनेको थियो।

तपाईको प्रतिक्रिया