
इटहरी २१ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा Balen Shah सवार हेलिकप्टर झापामा अवतरण गर्न नसकेपछि पुनः काठमाडौं फर्किएको छ। हेली एभरेस्ट को ९N–AOB नम्बरको हेलिकप्टरमार्फत शाहसहित पाँच सदस्यीय टोली बिहीबार बिहान ९:१२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापातर्फ प्रस्थान गरेको थियो।
तर झापा क्षेत्रमा मौसम प्रतिकूल भएपछि हेलिकप्टरले त्यहाँ अवतरण गर्न सकेन। मौसमको अवस्था सुरक्षित नभएकाले उडानलाई डाइभर्ट गरी पुनः काठमाडौं फर्काइएको हो।
हेलिकप्टर बिहान १०:१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको स्रोतले जनाएको छ।
यसअघि शाहले बिहान काठमाडौंमै आफ्नो मतदान सम्पन्न गरेका थिए। त्यसपछि चुनावी गतिविधिका लागि झापा जाने कार्यक्रम तय गरिएको थियो। तर खराब मौसमका कारण उनको यात्रा बीचमै अवरुद्ध भएको हो।
चुनावी सरगर्मी बढिरहेका बेला झापा क्षेत्रलाई महत्वपूर्ण राजनीतिक केन्द्रका रूपमा हेरिएको छ। खराब मौसमका कारण हवाई उडान प्रभावित हुँदा नेता–कार्यकर्ताको आवतजावतमा समेत असर परेको छ।





