
नयाँ दिल्ली/चौक चौकको चिया पसलमा नेपालीहरुको भलाकुसारी, किराना पसलमा किनमेल र ठेलामा तरकारी पसलेहरुसगं नेपालीहरुको मोलमोलाइ । नेपालमानै भएको अभास दिइ रहेको वेला खल्तिवाट जव भारु नोट निस्कन्छ अनि झ्ल्यास परदेशी भुमिको आभाष ।
भारतको राजधानी दिल्लीस्थित रोहिणी सेक्टर–५ र सोमबजार क्षेत्र यतिबेला नेपालीहरूको एउटा भावनात्मक बस्ती बनेको छ । गल्ली–गल्लीमा सुनिने नेपाली भाषा, घरका झ्यालहरूमा सुकाइएका कपडा, बिहान अस्पतालतर्फ हतारिँदै गरेका बिरामी र साँझ कोठामै पाकिरहेको दाल–भातको सुवासले यो ठाउँलाई विदेशमा बनेको ‘सानो नेपाल’ जस्तै बनाएको छ ।
यो बस्ती रोजगारी , व्यापार वा पर्यटकका लागि बनेको होइन—यो बनेको छ क्यान्सरसँग जीवन बचाउने संघर्षमा आएका नेपालीहरूको बाध्यताबाट ।
उपचारको खोजीले जन्माएको ‘सानो नेपाल’
दिल्लीस्थित राजिव गान्धि क्यान्सल अस्पताल तथा रिसर्च सेन्टर मा उपचारका लागि आउने विदेशी बिरामीमध्ये उल्लेख्य संख्या नेपालबाट आउने गर्छन् । नेपालीहरुको सहयोगिको भुमिका खेल्दै आउनु भएको नेपाली मुलका एन बि ट्राभल्स एण्ड टूर्सका सञ्चालक विष्णु शाही ठकुरीले यहाँ आउने विदेशी बिरामीमध्ये करिब ५० देखि ७० प्रतिशत नेपाली रहेको बताउनुहुन्छ ।
क्यान्सर उपचार महिनौँसम्म चल्ने भएकाले अस्पतालको महँगो बेडमा लामो समय बस्न सम्भव हुँदैन । त्यसपछि बिरामी र उनका कुरुवाहरू रोहिणी सेक्टर–५ तथा सोमबजार आसपासका गल्लीहरूमा साना कोठा भाडामा लिएर बस्न थाल्छन् । एउटै घरमा तीन–चार नेपाली परिवार बस्न थालेपछि यो क्षेत्र नेपालीहरूको केन्द्रजस्तै बनेको छ ।
डेराको जीवनः उपचारसँगै आर्थिक संघर्ष
यहाँको जीवन बाहिरबाट देखिएजस्तो सहज छैन। उपचार खर्च बाहेक दिल्लीमा बसोबास र खानपानका लागि मात्रै एक बिरामी र एक कुरुवाले मासिक करिब ५० हजारदेखि ७० हजार भारतीय रुपैयाँ खर्च गर्नुपर्ने अवस्था छ । यहां ६ सय रुपैयादेखी ३ हजार रुपैयामाथिका फ्ल्याटहरु सजिलै उपलब्ध हुने गर्दछ । यस क्षेत्रका सयौ घरहरुको हजारौ कोठाहरु नेपालका विरामि परिवारले खचाखच भरिएका छन् ।
धेरै बिरामीहरू साना, ओसिला र साँघुरा कोठामा बस्न बाध्य छन्। कतिपय घरबेटीहरूले नेपाली बिरामीबाट बढी भाडा असुल्ने गरेको गुनासो सुनिए पनि अस्पताल नजिक बस्नुपर्ने बाध्यताले उनीहरू विकल्पविहीन हुन्छन्।
बाहिरको खाना स्वास्थ्यका लागि उपयुक्त नहुने र महँगो हुने भएकाले अधिकांश परिवार सोमबजारबाट सागसब्जी, चामल र दैनिक उपभोग्य सामग्री किनेर कोठामै नेपाली परिकार पकाउँछन् । विदेशमा बसे पनि भान्साबाट आउने स्वाद भने गाउँघरकै हुन्छ ।
पीडाले जोडेको आत्मीय सम्बन्ध

यो ‘सानो नेपाल’ मा सबै अपरिचित भएर पनि आफन्तजस्तै बनेका छन् । एउटै रोगसँग लडिरहेका नेपालीहरू एकअर्काको सहारा बनेका छन्—कसैले अस्पतालको रिपोर्ट बुझाइदिन्छ, कसैले नयाँ बिरामीलाई डाक्टरसम्म पु¥याउँछ, त कसैले निराश मनलाई हौसला दिन्छ । विगत १० वर्षदेखी उपचार गराइरहनु भएका काठमाण्डौका त्रिपाठि थरुका एक व्यत्ति भेट्ने सवै नेपाली विरामिहरुलाइ आफुलाइ हेरेर सहास जुटाउन सल्लाह दिदै गरेको भेटिन्छ । उनले करिव १० वर्षमा ५९ वटा किमो थेरापिको साइकल पुरा गरेका छ्न । अझ कति धाउनु पर्ने कुनै ठेगान नभएको उनको अनुभव छ ।
दशैँ, तिहार ,होली वा अन्य चाडपर्व आउँदा सानो कोठामै टीका–जमरा लगाएर सामूहिक रूपमा मनाइन्छ । घरदेखि हजारौँ किलोमिटर टाढा भए पनि आत्मीयताको कमी महसुस हुन दिइँदैन ।
“नेपालमै राम्रो उपचार भए यहाँ आउनु पर्दैनथ्यो”
आमाको लामो समयको उपचारपछि यही सोमबार नेपाल फर्किन लागेकी पोखराकी वास्तोला थरकी एक चिकित्सक महिलाको अनुहारमा छुट्टै खुशी झल्किन्थ्यो ।
उनले भावुक हुँदै भनिन्—
“नेपालमै समयमै र भरपर्दो उपचार पाइने व्यवस्था भएको भए यसरी परिवारसहित विदेशमा संघर्ष गर्नुपर्ने थिएन।”
महिनौँको पीडा, आर्थिक भार र मानसिक तनावपछि घर फर्किने तयारीमा रहेकी उनको मुस्कानमा राहत मात्र होइन, संघर्ष जितेको अनुभूति स्पष्ट देखिन्थ्यो ।
नेपालमै क्यान्सर उपचार सेवा विस्तार हुँदै गए पनि ढिलासुस्ती, सीमित प्रविधि, विशेषज्ञ अभाव र व्यवस्थापन समस्याका कारण धेरै बिरामी अझै विदेश धाउन बाध्य छन् । कतिपय परिवारले उपचारका लागि घरजग्गा बेच्ने वा ऋण लिनेसम्मको अवस्था भोगिरहेका छन् ।
क्यान्सर जस्तो रोगमा उपचार ढिलो हुनु जीवनकै जोखिम भएकाले बिरामीहरू सुरक्षित विकल्प खोज्दै दिल्ली आइपुग्छन् ।
नेपाली बिरामीहरूको चापलाई ध्यानमा राख्दै अस्पतालले नेपलाीहरुकालागी छुट्टै बिरामी सहायता सेवा सञ्चालन गरेको छ । यसले भाषा समस्या, भिसा प्रक्रिया, दर्ता तथा उपचारसम्बन्धी कागजी काममा नेपाली बिरामीलाई ठूलो राहत दिएको छ । यद्यपि अस्तालले नेपाली विरामिहरुको सख्यां गोप्यनै राख्ने गरेको छ ।
आशा, आँसु र साहसको संगम

रोहिणीको यो ‘सानो नेपाल’ वास्तवमा पीडाले जन्माएको समुदाय हो। यहाँ हरेक कोठामा एउटा संघर्षको छुट्टै कथा छ—कसैको केमोथेरापी चलिरहेको छ, कसैले रिपोर्टको प्रतीक्षा गरिरहेको छ, त कोही निको भएर घर फर्किने दिन गन्दैछ ।
यी गल्लीहरूमा क्यान्सरसँगको लडाइँ मात्र होइन, नेपालीहरूको अदम्य साहस, आपसी सहयोग र बाँच्ने अठोट जीवित छ । विदेशी भूमिमा बनेको यो सानो बस्तीले एउटा सन्देश दिन्छ—रोगले शरीर थकाउन सक्छ, तर आशा र एकताले मानिसलाई फेरि उठ्न सिकाउँछ ।





