
इटहरी /आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रस्थित जोगबनी नाका तीन दिनका लागि बन्द गरिने भएको छ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलका अनुसार फागुन १८ गते सोमबार राति १२ बजेदेखि फागुन २१ गते बिहीबार राति १२ बजेसम्म जोगबनी नाका पूर्ण रूपमा बन्द रहनेछ। निर्वाचनको मौन अवधिमा सुरक्षा सतर्कता अपनाउँदै दुवै देशका नागरिकको आवतजावत रोक्ने निर्णय गरिएको उनले जानकारी दिए।
निर्वाचन प्रक्रिया सम्पन्न नभएसम्म सीमा क्षेत्रबाट हुने आवागमन पूर्ण रूपमा रोक लगाइने प्रशासनले जनाएको छ।
यसैबीच, निर्वाचन र पर्वका कारण विराटनगर भन्सार कार्यालय पनि दुई दिन पूर्ण रूपमा बन्द रहने भएको छ। विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठका अनुसार फागुन १९ र २१ गते कार्यालय बन्द रहनेछ ।
फागुन १९ गते तराई–मधेस क्षेत्रमा मनाइने होली पर्व तथा फागुन २१ गते प्रतिनिधिसभा सदस्य पदको निर्वाचन परेकाले सो दिन भन्सार सेवा स्थगित गरिने जनाइएको छ।
नाका र भन्सार सेवा बन्द रहने अवधिमा आयात–निर्यात तथा सीमा पार आवतजावत प्रभावित हुने भएकाले सम्बन्धित व्यवसायी तथा सर्वसाधारणलाई आवश्यक तयारी गर्न प्रशासनले आग्रह गरेको छ !





