झापा, फागुन १३ — झापा–५ को चुनावी मैदान यतिबेला असाधारण रूपमा तातेको छ। चार पटक प्रधानमन्त्री भइसकेका एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह रणनीतिक रूपमा उनको कार्यतालिकासँगै समय जुधाएर मतदातामाझ पुगिरहेका छन्।
यसपटक ओली अघिल्ला चुनावझैँ देशव्यापी आमसभामा व्यस्त छैनन्। उनी दमकमा डेरा जमाएर घरदैलो र लक्षित भेटघाटमा केन्द्रित देखिन्छन्। अर्कोतर्फ, बालेनले ‘समय–रणनीति’ अपनाउँदै ओली जहाँ पुग्छन्, त्यही आसपास वा सोही समयमा मतदाता भेट्ने शैली अवलम्बन गरेका छन्। यसले झापा–५ मा चुनावी प्रतिस्पर्धा प्रत्यक्ष र मनोवैज्ञानिक दुवै तहमा रोचक बनेको छ।
उम्मेदवारीदेखि सुरु भएको रणनीतिक दौड
६ माघमा उम्मेदवारी दर्ताका लागि ओली एक दिनअघि नै झापा आइपुगेका थिए। बालेन भने दर्ताकै दिन बिहान मात्रै निर्वाचन क्षेत्रमा प्रवेश गरेका थिए। दर्तापछि ओली दमकमै बसेर स्थानीय नेता–कार्यकर्तासँग छलफल र रणनीति निर्माणमा जुटे।
बालेन भने झापा–५ मा छोटो उपस्थिति जनाएर पूर्वका पहाडी जिल्लादेखि सुदूरपश्चिमसम्म चुनावी दौडाहमा निस्किए। तर, जब–जब ओली झापा फर्किए, बालेन पनि आफ्नो कार्यक्रम परिमार्जन गर्दै पुनः दमक आइपुगे।
विशेषतः ४ फागुनमा दमक–५ स्थित किराँत चोकबाट ओलीको घरदैलो तय हुँदा बालेन बिहानै ७ बजेदेखि सोही वडामा कार्यक्रम सुरु गर्नुले दुवै नेताबीचको ‘तालिका जुधाउने’ प्रतिस्पर्धालाई स्पष्ट देखायो।
एउटै समय, फरक शैली
ओली: समूहगत भेटघाट र संरचित तालिका
ओलीले समयतालिका सार्वजनिक गर्दै प्रत्येक १५ मिनेटमा फरक–फरक चोक तथा बस्तीमा पुग्ने गरी घरदैलो गरे। दमक र कमल गाउँपालिकामा उनको उपस्थिति सन्तोषजनक देखिए पनि गौरादह र गौरीगञ्जमा केही मतदाताले लालपुर्जा, पूर्वाधार र रोजगारीका विषयमा असन्तुष्टि व्यक्त गरेका थिए।
पछि उनले रणनीति परिमार्जन गर्दै शिक्षक संगठन, धिमाल समुदाय, इसाई समाज, मुस्लिम समुदाय, अटो–रिक्सा व्यवसायी, उद्योग वाणिज्य संघ, सहकारीकर्मी लगायतसँग सामूहिक भेटघाटलाई प्राथमिकता दिएका छन्। दमकस्थित निवासमै बुद्धिजीवी, पूर्वकर्मचारी र नागरिक समाजका प्रतिनिधिसँग छलफल गरिरहेका छन्।
बालेन: घरघर पुग्ने र प्रत्यक्ष संवाद
बालेन भने ‘पपुलिस्ट’ शैलीमा गाउँ–बस्ती छिर्दै घरघर पुग्ने रणनीतिमा छन्। वृद्धवृद्धासँग आशीर्वाद लिने, युवासँग सेल्फी खिच्ने, सुकुम्बासी बस्तीमा लालपुर्जाको विषयमा प्रत्यक्ष छलफल गर्ने र विकास–रोजगारीबारे खुला संवाद गर्ने उनको शैलीले विशेषगरी युवा मतदातामा आकर्षण बढाएको देखिन्छ।
उनी ठूला आमसभा भन्दा साना, लक्षित र प्रत्यक्ष अन्तरक्रियामा केन्द्रित छन्। सामाजिक सञ्जालमार्फत गतिविधि उच्चस्तरीय रूपमा प्रसारण गरिँदा उनको उपस्थिति झनै प्रभावकारी देखिएको छ।
मनोवैज्ञानिक प्रतिस्पर्धा
ओली झापा–५ मा चुनाव जित्नैपर्ने दबाबमा छन्। राष्ट्रिय राजनीतिमा स्थापित नेतृत्वको हैसियत जोगाउनु उनको प्राथमिकता हो।
बालेनका लागि झापा–५ नयाँ भूगोल भए पनि उनी ‘चुनौती दिने’ अभियानमा छन्। धेरै मतदाताले उनलाई पहिलो पटक प्रत्यक्ष भेटिरहेका छन्। यही ‘नयाँ अनुहार’ को उत्सुकतालाई कायम राख्न उनले ओलीको कार्यक्रमसँगै समय मिलाउँदै मतदाताको ध्यान बाँडिन नदिने रणनीति अपनाएको देखिन्छ।
झापा–५ मा चुनावी प्रतिस्पर्धा अब परम्परागत सभा–समारोहभन्दा पर पुगेको छ। यहाँ समय, शैली र सन्देश—तीनै तहमा प्रतिस्पर्धा चलिरहेको छ।
ओली अनुभव र संगठनको बलमा अघि बढिरहेका छन् भने बालेन प्रत्यक्ष संवाद र रणनीतिक तालिका जुधाइमार्फत चुनौती प्रस्तुत गरिरहेका छन्।
चुनावी परिणाम जे भए पनि झापा–५ अहिले राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बनेको

तपाईको प्रतिक्रिया