
इटहरी । धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसिगौडास्थित पृथ्वी लोकमार्गमा सोमबार बिहान भएको भीषण बस दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।
पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुबाहक बस बिहान करिब १:३० बजे अनियन्त्रित भई त्रिशूली नदीमा खस्दा उक्त मानवीय क्षति भएको हो। दुर्घटना रातको समयमा भएकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको थियो।
दुर्घटनालगत्तै सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेस आदमघाटबाट डीएसपी सुनिल गिरीको कमाण्डमा टोली परिचालन गरिएको थियो। साथै कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयबाट गोताखोरसहितको विशेष उद्धार टोली खटाइएको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी विष्णु प्रसाद भट्टले जानकारी दिएका छन्।
उद्धार टोलीले नदीबाट शव तथा घाइतेको खोजी–उद्धार गरेको छ। मृत्यु भएका १७ जनाको शव घटनास्थलमै राखिएको छ भने घाइते २४ जनालाई उद्धार गरी नजिकका विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ। मृतक र घाइतेको सनाखत प्रक्रिया जारी रहेको जनाइएको छ।
प्रारम्भिक विवरणअनुसार बस सडकबाट चिप्लिएर नदीमा खसेको अनुमान गरिए पनि दुर्घटनाको यथार्थ कारण खुल्न बाँकी छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
यस दुर्घटनाले पुनः एकपटक पृथ्वी लोकमार्गको जोखिम, सवारी साधनको प्राविधिक अवस्था तथा रात्रीकालीन यात्राको सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ। स्थानीयवासीले उक्त क्षेत्रमा बारम्बार सवारी दुर्घटना हुने गरेको भन्दै सडक सुरक्षामा दीर्घकालीन सुधारको माग गरेका छन्।
सरकार तथा सम्बन्धित निकायले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।





