
लोकतन्त्रको सुन्दरता मतपत्रमा होइन, मतदाताको मनमा हुन्छ । मतपत्र त केवल कागज हो; त्यसमा छापिने चिन्ह र नामहरू त केवल विकल्प हुन् । तर मतदाताको मन—त्यो स्वतन्त्र, सचेत र विवेकी हुन सकेन भने लोकतन्त्रको सम्पूर्ण संरचना खोक्रो बन्न पुग्छ । आज नेपालमा राजनीतिक दलहरूको प्रतिस्पर्धा भन्दा पनि गहिरो समस्या मतदाताको मनको स्वतन्त्रतामाथि परेको दबाब हो ।
नेपालले बहुदलीय लोकतन्त्रको यात्रामा अनेक मोडहरू पार गर्यो । २०४६ को जनआन्दोलन, २०६२/६३ को जनआन्दोलन, गणतन्त्र घोषणा, संघीयताको स्थापना—यी सबै ऐतिहासिक घटनाहरूले हाम्रो राजनीतिक संरचना बदले । तर के हामीले मतदाताको मन बदलेका छौं ? के हामीले मतदातालाई साँच्चिकै स्वतन्त्र बनाएका छौं ? आज पनि धेरै मतदाता विचारभन्दा बढी प्रभावमा, नीति भन्दा बढी नातामा, कार्यक्रमभन्दा बढी प्रचारमा र विवेकभन्दा बढी आवेगमा निर्णय लिन्छन् । यहीँबाट लोकतन्त्रको वास्तविक संकट सुरु हुन्छ ।
नेपाली राजनीतिमा व्यक्तिपूजा र गुटबन्दी पुरानै रोग हो । जुनसुकै दल होस्, तिनको आन्तरिक लोकतन्त्रभन्दा बाह्य प्रचार बलियो देखिन्छ । मतदाताले दलको सिद्धान्त पढेर भन्दा पनि नेताको भाषण सुनेर निर्णय गर्ने परम्परा छ । सामाजिक सञ्जालले यो प्रवृत्तिलाई अझै तीव्र बनाएको छ । सूचनाको बाढी छ, तर सत्यको अभाव छ । अफवाह, भ्रम, आधा–सत्य र भावनात्मक नाराले मतदाताको मन कब्जा गरिरहेका छन् । यस्तो अवस्थामा मतदाताको स्वतन्त्रता कागजी अधिकारमा सीमित हुन्छ । मतदाताको मन स्वतन्त्र हुन आर्थिक स्वतन्त्रता आवश्यक हुन्छ । बेरोजगारी, गरिबी र परनिर्भरता बढेको समाजमा मत स्वतन्त्र रहन सक्दैन । चुनावको बेला वितरण गरिने पैसा, उपहार, भोजभतेर र आश्वासनहरूले मतदाताको विवेकमा चोट पुर्याउँछन् ।
गरिब नागरिकले पाँच वर्षको नीति भन्दा पाँच दिनको राहत रोज्नु अस्वाभाविक होइन । तर यसले दीर्घकालीन विकासलाई अवरुद्ध गर्छ । लोकतन्त्रको मूल आत्मा नै कमजोर हुन्छ ।
नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश हो । यो विविधता हाम्रो शक्ति हो । तर राजनीतिक स्वार्थले यही विविधतालाई विभाजनको औजार बनाउँदा मतदाताको मन स्वतन्त्र रहँदैन । जातीय आग्रह, उत्तेजना तथा क्षेत्रीय भावनाले विवेकलाई ओझेलमा पार्छ । उम्मेदवारको योग्यता, नीतिगत स्पष्टता र कार्यक्षमताभन्दा “हाम्रै मान्छे” भन्ने भावना बलियो हुन्छ । लोकतन्त्रको गुणस्तर त्यहीँ खस्किन्छ ।
आजको युवा वर्ग शिक्षित छ, विश्वसँग जोडिएको छ । तर उनीहरूमा निराशा पनि उत्तिकै गहिरो छ । वैदेशिक रोजगारीको बाध्यता, देशभित्र अवसरको अभाव र राजनीतिक स्थिरताको कमीले युवाको मनमा आक्रोश छ । यो आक्रोश सकारात्मक परिवर्तनको ऊर्जा बन्न सक्छ तर गलत दिशामा मोडियो भने उग्रताको बीउ बन्न सक्छ । युवाको मत स्वतन्त्र हुनका लागि उनीहरूलाई अवसर, आशा र स्पष्ट भविष्य देखिनु आवश्यक छ ।
राष्ट्रिय दैनिक, टेलिभिजन र डिजिटल प्लेटफर्महरूले मतदाताको मन निर्माणमा महत्वपूर्ण भूमिका खेल्छन् । तर जब सञ्चार माध्यमहरू पनि राजनीतिक वा आर्थिक प्रभावमा पर्छन्, तब निष्पक्ष सूचना प्रवाह अवरुद्ध हुन्छ ।
स्वतन्त्र पत्रकारिता लोकतन्त्रको मेरुदण्ड हो । तथ्यमा आधारित बहस, नीतिगत विश्लेषण र आलोचनात्मक चेतनाले मात्र मतदाताको विवेकलाई बलियो बनाउन सक्छ । यी सबै कुराहरूको निदान गर्न विद्यालयदेखि नै नागरिक शिक्षा प्रभावकारी बनाउनुपर्छ । लोकतन्त्र केवल शासन प्रणाली होइन, जीवनशैली हो भन्ने बुझाउनुपर्छ । रोजगारी सिर्जना र उद्यमशीलताको प्रवर्द्धनले मतदातालाई आत्मनिर्भर बनाउनुपर्छ । दलहरूले आफ्नै संरचनामा पारदर्शिता र प्रतिस्पर्धा बढाउनुपर्छ । जब दलभित्र लोकतन्त्र बलियो हुन्छ, तब बाह्य लोकतन्त्र पनि सुदृढ हुन्छ। तथ्य जाँच गरेर मात्र प्रतिक्रिया दिने संस्कृतिलाई संस्थागत गरिनुपर्छ ।
लोकतन्त्रको संकट सत्तामा होइन, चेतनामा हुन्छ । मतदाताको मन स्वतन्त्र भएन भने कुनै पनि संविधान, कुनै पनि दल, कुनै पनि नेतृत्वले देशलाई सही दिशामा लैजान सक्दैन । आजको सबैभन्दा ठूलो चुनौती चुनाव जित्नु होइन—मतदाताको मन जित्नु पनि होइन—बरु मतदाताको मनलाई स्वतन्त्र बनाउनु हो । जब मतदाताले डर, लोभ, जातीय आग्रह र भावनात्मक उत्तेजनाबाट मुक्त भएर विवेकपूर्ण निर्णय लिन्छ, तब मात्र लोकतन्त्र साँच्चिकै सशक्त हुन्छ । नेपालको भविष्य संसद भवनमा भन्दा पनि प्रत्येक नागरिकको मनमा तय हुन्छ । त्यसैले अबको राजनीतिक अभियान सत्ता प्राप्तिको होइन, चेतना निर्माणको हुनुपर्छ ।
लोकतन्त्रलाई बचाउने हो भने मतदाताको मन बचाउनुपर्छ । तबमात्र नेपालको समृद्ध हुने तर्फको वास्तविक यात्रा सुरु हुन्छ ।





