
इटहरी /संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले पछिल्लो समय अत्यधिक चर्चामा रहेका सुनसरी जिल्लाका दुई प्रमुख पर्यटकीय स्थल—बराहक्षेत्र नगरपालिकास्थित सप्तकोशी नदीको बोरा बाँध र इटहरी उपमहानगरपालिका–११, खनारस्थित बुढी झरनाको स्थलगत अवलोकन गर्नुभएको छ।
केही महिनायता सामाजिक सञ्जाल र मौखिक प्रचारमार्फत तीव्र गतिमा चर्चामा आएका यी गन्तव्यहरूमा आन्तरिक पर्यटकको संख्या उल्लेख्य रूपमा बढ्दै गएको सन्दर्भमा सचिव निरौलाले स्थलमै पुगेर पूर्वाधार विकास, व्यवस्थापन र दीगो पर्यटन प्रवर्द्धनका सम्भावनाबारे चासो व्यक्त गर्नुभयो। अवलोकनका क्रममा उहाँले यी क्षेत्रलाई व्यवस्थित, सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बताउनुभयो।
निरीक्षण टोलीमा सुनसरी र मोरङ जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, सुरक्षा निकायका अधिकारी तथा स्थानीय जनप्रतिनिधिहरु तथा इटहरी उपमहानगरपालिका अध्यक्ष भुवनराज पोखरेल कारबाहीको वडा अध्यक्ष संजय कुमार मिश्र , महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष केशव प्रसाद कोइराला सहभागिता रहेको थियो।
बराहक्षेत्रस्थित सप्तकोशीको बोरा बाँध अस्ताउँदै गरेको सूर्यको मनमोहक दृश्य अवलोकनका लागि विशेष रूपमा लोकप्रिय बन्दै गएको छ। साँझपख यहाँ सयौं पर्यटकहरू सूर्यास्तको दृश्य कैद गर्न र प्राकृतिक सौन्दर्यको आनन्द लिन पुग्ने गरेका छन्। अर्कोतर्फ, खनारस्थित बुढी झरना शीतल पानीमा पौडिन, प्राकृतिक वातावरणमा रमाउन र थारु आदिवासी समुदायका स्थानीय परिकारको स्वाद लिनका लागि चर्चित बन्दै गएको छ।
पछिल्लो समय यी दुवै स्थानमा दैनिक हजारौंको संख्यामा आन्तरिक पर्यटकको भीड लाग्ने गरेको स्थानीयवासी बताउँछन्। बढ्दो चहलपहलसँगै व्यवस्थापन, सरसफाइ, सुरक्षा, पार्किङ, पदमार्ग र आधारभूत संरचनाको आवश्यकता पनि उत्तिकै महसुस हुन थालेको छ।
सचिव निरौलाको अवलोकनले यी क्षेत्रको दीगो पर्यटन विकासमा राज्यको ध्यान आकर्षित भएको संकेत दिएको स्थानीय सरोकारवालाहरूको भनाइ छ। उचित पूर्वाधार र व्यवस्थापन हुन सके यी गन्तव्यहरू प्रदेश–१ का प्रमुख आन्तरिक पर्यटन ‘हटस्पट’का रूपमा स्थापित हुने विश्वास गरिएको छ।





