
सुनसरी — नेकपा (एमाले) ले सुनसरी निर्वाचन क्षेत्र नम्बर–२ का लागि इटहरी उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख द्वारिकलाल चौधरीलाई चुनावी कमान्डरको जिम्मेवारी दिएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पार्टीले संगठन सुदृढीकरण र चुनावी रणनीति प्रभावकारी बनाउन चौधरीलाई पुनः सक्रिय भूमिकामा ल्याएको हो।
यसअघि पार्टी हितविपरीत गतिविधि गरेको आरोपमा एमाले कोशी प्रदेश कमिटीले गत मंसिरमा चौधरीलाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेको थियो। तर, निर्वाचन नजिकिँदै गर्दा पार्टीले अनुभव र स्थानीय प्रभावलाई मध्यनजर गर्दै उनलाई पुनः जिम्मेवारी सुम्पिएको जनाइएको छ।
सुनसरी–२ मा एमालेले इटहरीका सुजन लामालाई प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा मैदानमा उतारेको छ। पार्टी नेतृत्वले चौधरीको कमान्डमा चुनावी अभियानलाई तीव्र बनाउँदै घरदैलो, संगठन विस्तार र मतदाता परिचालनलाई प्राथमिकता दिने रणनीति तय गरेको छ।
पार्टी स्रोतका अनुसार स्थानीय तहमा लामो समयको नेतृत्व अनुभव भएका चौधरीको सक्रियताले चुनावी अभियान थप प्रभावकारी बन्ने विश्वास लिइएको छ।





