इटहरी  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अस्पताल भर्ना भएका छन्। माघ ५ गते जनकपुरमा आयोजित कार्यक्रममा देब्रे खुट्टामा लागेको चोटमा संक्रमण देखिएपछि उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत रहेका छन्।
लामिछानेका स्वकीय सचिव अविनाश आचार्यका अनुसार सुरुमा सामान्य देखिएको चोट समयसँगै बढ्दै छालाको भित्री तहसम्म संक्रमण पुगेको छ। चिकित्सकहरूको परीक्षण र सल्लाहअनुसार यस प्रकारको संक्रमण जोखिमपूर्ण हुन सक्ने भएकाले केही दिन अस्पतालमै राखेर चिकित्सकको निगरानीमा उपचार गरिनु आवश्यक ठहर गरिएको हो।
उनका अनुसार चोट आफैंमा गम्भीर नभए पनि संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै पूर्ण उपचार र स्वास्थ्य सुधारपछि मात्र सभापति लामिछाने नियमित राजनीतिक तथा सांगठनिक गतिविधिमा फर्किनेछन्। सो अवधिसम्म उनी कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी नहुने जानकारी सचिवालयले दिएको छ।
चितवन–२ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएपछि लामिछाने सार्वजनिक कार्यक्रममा नदेखिएपछि उनी कहाँ छन् भन्नेबारे विभिन्न अड्कलबाजी र चासो बढेको थियो। सो विषयमा स्पष्ट पार्दै सचिवालयले सभापति लामिछाने हाल चिकित्सकीय उपचारमै रहेको जनाएको हो।
पार्टी स्रोतका अनुसार चिकित्सकहरूले लामिछानेको स्वास्थ्य अवस्थालाई स्थिर बताउँदै पूर्ण आराम र नियमित निगरानी आवश्यक रहेको निष्कर्ष निकालेका छन्।

तपाईको प्रतिक्रिया