
सुनसरी। सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ बाट पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य भगवती चौधरीलाई पुनः विजयी गराउने उद्देश्यसहित नेकपा (एमाले) ले व्यापक निर्वाचन परिचालन संरचना तयार गरेको छ। एमाले सुनसरी–३ ले २ हजार २०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गर्दै संयोजक (कमाण्डर) को जिम्मेवारी लिलम बस्नेतलाई दिएको हो।
परिचालन समितिको सह–कमाण्डरमा ओमप्रकाश मेहता रहनुभएको छ भने उप–कमाण्डरमा शिवनारायण चौधरी र आश नारायण चौधरी चयन हुनुभएको छ। यस्तै, समितिको सचिवको जिम्मेवारी मिलिराम चौधरी लाई दिइएको छ।
परिचालन समिति संयोजक लिलम बस्नेतले सुनसरी–३ का हरेक वडास्तरसम्म समिति गठन गरी घरदैलो अभियान, जनसम्पर्क र संगठन विस्तारमार्फत निर्वाचन जित्ने तयारी गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार संगठनलाई सक्रिय बनाउँदै युवादेखि महिला, किसान, मजदुर र व्यवसायी सबै वर्गलाई अभियानमा जोडिनेछ।
अघिल्लो निर्वाचनमा ऐतिहासिक जित
सुनसरी–३ बाट अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) की उम्मेदवार भगवती चौधरीले नेपाली काँग्रेसका प्रभावशाली नेता विजय कुमार गच्छेदारलाई पराजित गर्दै इतिहास रचेकी थिइन्। चौधरीले गच्छेदारलाई ५ हजार १८८ मतको अन्तरले पराजित गर्दै संसद प्रवेश गर्न सफल हुनुभएको थियो।
पूर्वमन्त्री भगवती चौधरीको राजनीतिक पृष्ठभूमि
पूर्वमन्त्री भगवती चौधरी नेकपा (एमाले) भित्र संगठन निर्माण, जनआधार विस्तार र स्पष्ट राजनीतिक अडानका कारण परिचित नेता मानिनुहुन्छ। उहाँले संसदीय यात्राका क्रममा महिला अधिकार, सामाजिक न्याय, पूर्वाधार विकास र सुनसरी क्षेत्रको समग्र विकास लाई प्राथमिकतामा राख्दै काम गर्नुभएको छ।
मन्त्री पदमा रहँदा उहाँले नीतिगत सुधार, स्थानीय तहसँग समन्वय र विकासका योजनाहरू अघि बढाउन सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो। पार्टीभित्र पनि उहाँलाई अनुशासित, संघर्षशील र जुझारु नेतृ का रूपमा हेरिन्छ।
एमाले सुनसरी–३ ले यसपटक पनि अघिल्लो निर्वाचनको जनमतलाई अझ बलियो बनाउँदै पुनः विजय हासिल गर्ने लक्ष्य राखेको जनाएको छ।





