
इटहरी । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै आएको सुनसरीको इटहरी उपमहानगरपालिका–११ स्थित पर्यटकीय स्थल बुढी झरना (बुढीखोला झरना) चर्चाको शिखरमा पुगेको छ । प्राकृतिक सौन्दर्य, चिसो हावापानी र मनोरम वातावरणका कारण बुढी झरनाले दैनिक सयौँ पर्यटकलाई आकर्षित गर्दै आएको छ ।
यसैबीच बुढी झरनालाई थप आकर्षक, व्यवस्थित र पर्यटकमैत्री बनाउन आज विशेष कार्यक्रमबीच सामग्री हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा २० वटा नेपालको राष्ट्रिय झण्डा, २० वटा १० फिटका पार्किङ्ग पोल तथा थप ४ वटा थप चार वटा डस्टविन हस्तान्तरण गरिएको हो ।
यी सामग्री जडानसँगै बुढी झरनाको प्रवेशद्वार, मुख्य पदमार्ग र आसपासका क्षेत्र अझ आकर्षक देखिने विश्वास गरिएको छ ।
स्वच्छता र व्यवस्थापनमा जोड
बुढी झरना व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र चौधरीले पछिल्लो समय पर्यटकको चाप बढेसँगै स्थलको स्वच्छता, सुरक्षा र व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिनुभयो ।
अध्यक्ष चौधरीका अनुसार,
“झण्डा र संरचनात्मक सामग्री थपिँदा पर्यटकीय सौन्दर्य मात्र होइन, स्थलको पहिचान र राष्ट्रिय भावनासमेत बलियो हुन्छ । यसले बुढी झरनालाई अझ स्वच्छ, सफा र व्यवस्थित बनाउन मद्दत पुग्नेछ ।”
पर्यटकको रोजाइमा बुढी झरना
इटहरी बजारदेखि छोटो दूरीमा अवस्थित बुढी झरनामा पछिल्लो समय परिवार, विद्यार्थी, युवायुवती र आन्तरिक पर्यटकको बाक्लो उपस्थिति देखिन थालेको छ । सामाजिक सञ्जालमा निरन्तर तस्वीर र भिडियो भाइरल भइरहँदा यसको चर्चा देशभर फैलिएको छ ।
स्थानीय तह, व्यवस्थापन समिति तथा स्थानीयको सहकार्यमा पूर्वाधार सुधार, फोहोर व्यवस्थापन र सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तयारी भइरहेको जनाइएको छ । व्यवस्थित विकाससँगै बुढी झरनालाई पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्य बनाउने लक्ष्य लिइएको छ ।







