सुनसरी ।सुनसरीको इटहरी उपमहानगरपालिका–१२ स्थित खनारमा संघीय शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत करिब चार करोड रुपैयाँ बराबरको लागतमा निर्माण गरिएको भवन तथा पूर्वाधार आज औपचारिक रूपमा इटहरी उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ।
संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरका प्रमुख सुरेन्द्रकुमार शाहले एक विशेष कार्यक्रमबीच इटहरी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष भुवनराज पोख्रेललाई नवनिर्मित भवनको साँचो हस्तान्तरण गर्नुभएको हो।
खनारमा निर्माण गरिएको उक्त दुई तले सुविधा सम्पन्न भवनमा १४ वटा कोठा रहेका छन्। भवनलाई स्थानीय व्यवसायीहरूलाई सहुलियत दरमा भाडामा उपलब्ध गराइने र यसलाई स्थानीय सरकारको दीगो आम्दानीको स्रोतका रूपमा विकास गरिने वडा अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो।
भवनसँगै सुविधायुक्त शौचालय, माछा–मासु बिक्री स्थल, तथा शनिवारे हाट सञ्चालन हुने मुख्य सडक खण्डमा पक्की ढलान समेत गरिएको छ। यसले स्थानीय बजार व्यवस्थापनमा सहजता ल्याउने र खनार क्षेत्रको व्यावसायिक गतिविधि थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।
वडा अध्यक्ष भुवनराज पोख्रेलले भन्नुभयो—
“यो भवन र पूर्वाधारले खनार क्षेत्रको व्यापारिक गतिविधि व्यवस्थित गर्नेछ। स्थानीय व्यवसायीलाई सहज हुने मात्र होइन, उपमहानगरपालिकाको दीगो आम्दानीको आधारसमेत बन्नेछ।”
२०८१ साल असार २० गते भएको ठेक्का सम्झौताअनुसार ब्राइटबुल–श्रीकृष्ण जेभी, धरानले करिब डेढ वर्षको अवधिमा भवनसहितका पूर्वाधार निर्माण कार्य सम्पन्न गरेको हो।
स्थानीय स्तरमा व्यापार प्रवर्द्धन, रोजगारी सिर्जना र बजार व्यवस्थापनमा योगदान पुर्याउने अपेक्षासहित निर्माण गरिएको यस संरचनाले इटहरी–१२ खनार क्षेत्रको समग्र विकासमा महत्वपूर्ण टेवा पुर्याउने विश्वास गरिएको छ।









