
सुनसरी । तेस्रो देशबाट आयात गरिएको उच्च गुणस्तरको कोइला भारतमै बिक्री गरी नेपालमा गुणस्तरहीन कोइला भित्र्याइएको भन्दै कोसी अञ्चल इँटा उद्योग व्यवसायी सङ्घले गम्भीर आपत्ति जनाएको छ।
सङ्घले भारत–नेपाल कोइला आयात प्रक्रियामा व्यापक अनियमितता, तस्करी र गुणस्तरहीन कोइलाको कारोबार भइरहेको दाबी गर्दै आज आइतवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।
सङ्घका अनुसार सुनसरी र मोरङका इँटा उद्योग तथा सप्लायर्सले अमेरिकाबाट खरिद गरेको उच्च गुणस्तरको कोइला भारतको हल्दिया बन्दरगाह हुँदै नेपाल ल्याउने क्रममा बाटोमै कोइला अदलबदल गर्ने, ट्रकको सरकारी सिल तोडफोड गरी नक्कली (डुप्लिकेट) सिल प्रयोग गर्ने जस्ता गैरकानुनी गतिविधि भइरहेको छ।
हालै हल्दिया पोर्टबाट भारतीय नम्बर प्लेट भएका तीन वटा ट्रकमार्फत नेपाल ल्याइएको कोइला परीक्षण गर्दा बन्दरगाहमा गरिएको ल्याब परीक्षणभन्दा निकै कम गुणस्तरको पाइएको सङ्घले जनाएको छ। सो क्रममा केही ट्रक चालकले भारतमै राम्रो कोइला बिक्री गरी खराब कोइला नेपाल ल्याएको स्वीकार गरेको दाबी पनि गरिएको छ।

सङ्घका अध्यक्ष खगेन्द्र श्रेष्ठले भारतमा कोइला तथा ट्रकको सिल खोल्न नपाइने स्पष्ट कानुनी व्यवस्था हुँदाहुँदै पनि भारतीय भूमिमै कोइला अदलबदल हुनु अन्तर्राष्ट्रिय परिवहन कानुनको गम्भीर उल्लङ्घन भएको बताए।
अन्तर्राष्ट्रिय रूपमा लागू हुने ट्रान्जिट ट्रेड एग्रिमेन्ट, कस्टम्स कनभेन्सन (TIR Convention) तथा सील्ड कार्गो नियमावली अनुसार एक देशबाट अर्को देशमा ट्रान्जिट हुँदै जाने मालसामानको सिल तोडफोड, अदलबदल वा गुणस्तर परिवर्तन गैरकानुनी मानिन्छ। यस प्रकारको कार्यले भन्सार, ढुवानी कम्पनी र सम्बन्धित देशका नियामक निकायलाई समेत जवाफदेही बनाउने कानुनी व्यवस्था रहेको छ।
गुणस्तरहीन कोइला प्रयोग गर्न बाध्य हुँदा इँटा उद्योगहरू ठूलो आर्थिक क्षतिमा परेको भन्दै सङ्घले दोषी ट्रक, ढुवानी कम्पनी तथा संलग्न व्यक्तिमाथि तत्काल छानबिन गरी कडा कारबाही गर्न माग गरेको छ। साथै, कोइला आयात प्रक्रियालाई पारदर्शी बनाउन र उद्योगीहरूको हित संरक्षण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।





