
इटहरी, इटहरी उपमहानगरपालिका–११ स्थित खनार पर्यटकीय क्षेत्रमा लागु गरिएको पार्किङ शुल्कलाई लिएर पछिल्लो समय सामाजिक सञ्जालमा अनावश्यक विवाद सिर्जना गरिएको भन्दै सम्बन्धित पक्षले आपत्ति जनाएको छ।
खनार क्षेत्रमा पार्किङ शुल्क इटहरी उपमहानगरपालिका तथा वडा नं. ११, १२ र १३ का वडाध्यक्षहरूको पहलमा उपभोक्ता समिति गठन गरी समितिकै निर्णय अनुसार निर्धारण गरिएको स्पष्ट पारिएको छ। शुल्क कुनै व्यक्तिको व्यक्तिगत फाइदाका लागि नभई सेवा, सरसफाइ र व्यवस्थापन सुधारका लागि मात्र लिइएको जनाइएको छ।
समितिका अध्यक्ष सुरेन्द्र चौधरीका अनुसार पार्किङका लागि रु. २० मात्र शुल्क लिइएको हो। उक्त रकमबाट फोहोर व्यवस्थापन तथा नियमित सरसफाइ, शौचालयको सरसफाइ र पानीको व्यवस्था, घुम्न आउनेका लागि खानेपानी निःशुल्क उपलब्ध गराउने, स्वयंसेवक तथा सुरक्षाकर्मी परिचालन गर्ने, पार्किङ स्थल व्यवस्थित राख्ने र सम्भावित दुर्घटना न्यूनीकरण गर्ने कार्य गरिँदै आएको छ।
समितिले “यो शुल्क घुम्न आउनेलाई दुःख दिनका लागि होइन, खनार पर्यटकीय स्थललाई सुरक्षित, सफा र दीर्घकालीन रूपमा सञ्चालन गर्न सहयोग पुर्याउने उद्देश्यले लिइएको हो,” जनाएको छ।
पारदर्शिताका विषयमा पनि समितिले प्रस्ट्याउँदै रसिद तथा रजिस्टर अनिवार्य रूपमा राखिएको, उपभोक्ता समितिको निर्णय अनुसार मात्र शुल्क उठाइएको र आम्दानी–खर्च सार्वजनिक गरिने व्यवस्था गरिएको जानकारी दिएको छ।
निस्वार्थ रूपमा गरिएको काममाथि आरोप, हल्ला र हतोत्साहित गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै समितिका पदाधिकारीहरूले असन्तुष्टि जनाएका छन्।
यसै बीच आज सुनसरी, मोरङ ,झापा लगायतका जिल्लाहरूबाट १० हजारभन्दा बढी आन्तरिक पर्यटकहरू मनोरञ्जनको लागि यहाँ आएको इटहरी उपमहानगरपालिका वडा नम्बर १२ का सदस्य सन्यास कुमाए शाहले जानकारी दिनुभएको छ। अहिले यो स्थानमा झरनामा जल क्रीडासँगै पिकनिक, थारु समुदायको विभिन्न खाद्यान्न परिकारको स्वाद र विविध मनोरञ्जनका साधनले गर्दाखेरि आन्तरिक पर्यटकको रोजाइमा यो स्थान पर्न थालेको छ।





