
इटहरी। इटहरी–बुढीखोला–झरना (खनार) क्षेत्रको संरक्षण, व्यवस्थापन र पर्यटन विकासका लागि समिति गठन गरिएको छ। समिति गठनसँगै उक्त क्षेत्रको विकास कार्यले अब औपचारिक र व्यवस्थित रूप लिएको छ।
समिति गठनअघि नै रंगरोगन (कलर) को काम सुरु भइसकेको थियो भने गठनको दिनमै काम गरेर देखाउने प्रतिबद्धता व्यवहारमै उतारिएको छ। आज बसेको बैठकले पदाधिकारी चयन गर्दै तत्काल काम सुरु गरेको हो।
समितिको अध्यक्षमा सुरेन्द्र चौधरी चयन हुनुभएको छ। यस्तै उपाध्यक्षमा भुपेन चौधरी र नौसाद आलम, सचिवमा चन्दी गौतम, सह–सचिवमा एम.डि. सबिर र नोड राज दाहाल चयन हुनुभएको छ। कोषाध्यक्षको जिम्मेवारी नबिना बराललाई दिइएको छ भने सह–कोषाध्यक्षमा भरत साह चयन हुनुभएको छ। सदस्यहरूमा एरिका दाहाल, बित्तु साह, समीर चौधरी, सरोज गिरि, शिवु सरदारलगायत रहनुभएको छ।
समिति गठनकै दिन आर्थिक पारदर्शिता र साझा उत्तरदायित्वको उदाहरण प्रस्तुत गर्दै कोष संकलन गरिएको छ। सबै समिति सदस्यबाट प्रति सदस्य रु. १,००० तथा अध्यक्ष, उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षबाट प्रति व्यक्ति रु. २,००० का दरले रकम संकलन गरी कोषमा तत्काल जम्मा गरिएको समितिले जनाएको छ।
पहिलो दिनमै थालियो विकास कार्य
समिति गठन भएको दिन आजै विभिन्न तत्कालीन कामहरू सम्पन्न भएका छन्। राति ७ बजेसम्म डोजर प्रयोग गरी अस्थायी बाटो निर्माण गरिएको छ भने बाटो क्लियर गरी पार्किङ व्यवस्थापन सुरु गरिएको छ। नगरपालिकासँग समन्वय गरेर डोजर तत्काल परिचालन गरिएको हो।
यस्तै चार वटा शौचालय निर्माणको व्यवस्था गर्ने निर्णय भएको छ। खानेपानीका लागि कल व्यवस्थापन गरिएको छ भने विद्युत पोल गाड्ने र भेपर लाइट जडान गर्ने तयारीसमेत गरिएको छ। नगरपालिकाबाट १० वटा डस्टबिन ल्याइएका छन्, जसमध्ये २ वटा शारदा माध्यमिक विद्यालयलाई र ३ वटा बुढीगंगा–बुढीखोला पर्यटन क्षेत्रलाई उपलब्ध गराइएको छ।
समितिका अनुसार भोलिदेखि रेलिङ निर्माणको काम सुरु गरिनेछ भने ५० वटा राष्ट्रिय झण्डा जडान गर्ने कार्य पनि तय गरिएको छ।
अव्यवस्थाबाट पहिचानतर्फ बुढीखोला
स्थानीय तह, समिति र नागरिकको साझा प्रयासमा बुढीखोला क्षेत्र अब अव्यवस्थाबाट पहिचानतर्फ अघि बढेको सन्देश दिएको छ। समिति गठनसँगै काम सुरु हुने र निर्णयसँगै परिणाम देखिने अभ्यासले बुढीखोलालाई उदाहरणीय पर्यटन क्षेत्रका रूपमा विकास गर्ने विश्वास बढेको छ।
समितिले सबैको साथ, श्रम र विश्वासप्रति धन्यवाद व्यक्त गर्दै विकासका काम अझ तीव्र रूपमा अगाडि बढ्ने स्पष्ट पारेको छ





