
इटहरी / इटहरी उपमहानगरपालिका–११ स्थित खनारको सिमरबना झरनामा रहेको बूढीखोलाको बाँध अद्भुत इन्जिनियरिङ कला र प्राकृतिक सौन्दर्यको अनुपम संगमका रूपमा पछिल्लो समय चर्चामा आएको छ। संरचनागत डिजाइन, बहुस्तरीय कन्क्रिट स्ल्याब र नियन्त्रित जलप्रवाहका कारण यसलाई ‘इन्जिनियरिङ मार्भेल’ भन्न सकिने जानकारहरूको भनाइ छ।
खनार बजारबाट पूर्वतर्फ चतरा नहरसँगै जोडिएको करिब २ हजार ९०० मिटर दूरीमा अवस्थित सिमरन झरनासम्म सबैखाले यातायात सुविधा सहज रूपमा उपलब्ध छ। बाँधको कुल लम्बाइ करिब १२५ मिटर र नदी सतहदेखि उचाइ करिब ३५ मिटर रहेको छ। बाँधको माथिल्लो भागमा करिब ५ मिटर चौडाइको समतल कन्क्रिट स्ल्याब छ भने त्यसको करिब ४ मिटर तल सम्पूर्ण बाँधभरि फैलिएको १० मिटर चौडाइको अर्को समतल स्ल्याब निर्माण गरिएको छ।
यी दुई चरण (स्टेप) पार गरेपछि पानी करिब ४५ डिग्रीको कोणमा झुकेको करिब ५० मिटर लामो भिरालो कन्क्रिट स्ल्याब हुँदै आकर्षक शैलीमा तल नदी सतहमा ओर्लिन्छ। यही संरचनाले सिमरन झरनालाई प्राकृतिक झरना र मानव निर्मित कलाको दुर्लभ संयोजन बनाएको छ। जानकारहरूका अनुसार यहाँ नियन्त्रित रूपमा ३०–३५ मिटर उचाइसम्मका पानीका फोहरा (फाउन्टेन) थप गर्न सके झरनाको सौन्दर्य झन् बढ्नेछ।
ड्रोनबाट खिचिएका तस्बिरहरूमा बाँधको टुप्पोमा दुई समानान्तर संरचना स्पष्ट देखिन्छन् – दायाँतर्फ सवारी साधन चल्ने सडक र बायाँतर्फ चतरा नहर। यति आकर्षक संरचना वर्षौँसम्म पर्याप्त प्रचार–प्रसार र विकासबिना लुकेर रहनु आफैंमा आश्चर्यजनक मानिन्छ।
स्थानीयवासी तथा सरोकारवालाहरूले सिमरन झरना ड्यामलाई दक्षिण इजिप्टको विश्वप्रसिद्ध आसवान ड्यामसँग तुलना गर्दै, सौन्दर्य, लोकेसन र पर्यटन विकासको दृष्टिले अझ बढी सम्भावना बोकेको क्षेत्र भएको बताएका छन्। उनीहरूका अनुसार यसलाई व्यवस्थित रूपमा विकास गर्न निजी क्षेत्रसमेत सहभागी हुने गरी कम्पनी मोडलमा अघि बढ्न सकिन्छ।
पर्यटन विकासका लागि land reclamation, स्थानीय घाटको व्यवस्थित स्थानान्तरण, खनार बजारदेखि सिमरन झरनासम्म पिच सडक, नहरतर्फ बग्गी मार्ग, पर्याप्त सडक बत्ती, बाँध आसपास प्रहरी बिट र उद्धार केन्द्र अत्यावश्यक रहेको सुझाव दिइएको छ।
प्रदेश सरकार र इटहरी उपमहानगरपालिकाले समग्र ‘मास्टर प्लान’ तयार गरी यो क्षेत्रलाई पर्यटकीय तथा मनोरञ्जन केन्द्रका रूपमा विकास गर्नुपर्ने आवाज उठेको छ। प्रस्तावित योजनामा नौका विहार, वाटर स्प्ल्यास, बग्गी सवारी, बन्जी जम्प, जिपलाइन, भ्यू टावर, सांस्कृतिक बजार, मेला क्षेत्र, सम्मेलन हल, क्याफे तथा रेष्टुरेन्ट, चेन्जिङ रूम, आपतकालीन स्वास्थ्य क्लिनिक, उद्धार टावर, झण्डा क्षेत्र, रंगीन बत्ती तथा ‘लाइट एन्ड साउन्ड शो’ समावेश छन्।
त्यसैगरी करिब ५०० गाडी र २ हजार मोटरसाइकल अट्ने पार्किङ, इटहरी चोकदेखि खनार हुँदै सिमरन झरनासम्म भविष्यमा e-tram सेवा र खनारदेखि बाँधसम्म मोटरबोट सेवा सञ्चालन गर्ने दीर्घकालीन योजनाबारे पनि सोचिनुपर्ने सरोकारवालाहरूको सुझाव छ।
समुचित योजना, लगानी र व्यवस्थापन हुन सके सिमरन झरना ड्याम इटहरी मात्र नभई पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने प्रबल सम्भावना देखिएको छ।





