इटहरी  । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल, दमक नगर कमिटीका अध्यक्ष छवि खतिवडा ले पार्टी परित्याग गर्दै झापा–५ बाट उम्मेदवारी दिएका बालेन्द्र शाह (बालेन) को पक्षमा खुलेका छन्।
खतिवडाले सामाजिक सञ्जालमा बालेनसँगको तस्बिर सार्वजनिक गर्दै आफूले एमाले र राष्ट्रिय युवा संघका सबै जिम्मेवारी त्यागेको घोषणा गरेका हुन्। उनले २०८२ माघ ७ गतेदेखि राष्ट्रिय युवा संघ नेपाल, दमक नगर कमिटीको अध्यक्ष तथा नेकपा (एमाले) को संगठित सदस्य पदबाट अलग भई बालेन शाहको चुनावी अभियानमा साथ–समर्थन जनाउने निर्णय गरेको उल्लेख गरेका छन्।
उनले लेखेका छन्,
“परिवर्तनलाई आत्मसात् गर्दै झापा–५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानमा साथ–समर्थन जनाउँदै बाँकी स्वतन्त्र राजनीतिक जीवन बिताउने निर्णय गरेको छु।”
खतिवडाले आफ्नो राजनीतिक यात्रामा सहयोग गर्ने पार्टी, युवा संघ, विभिन्न सामाजिक संघ–संस्था, साथीभाइ, इष्टमित्र तथा परिवारजनप्रति आभार व्यक्त गर्दै अग्रगामी परिवर्तन र सामाजिक न्यायका पक्षमा सदैव सक्रिय रहने प्रतिबद्धता समेत जनाएका छन्।
यस घटनाले झापा–५ को चुनावी राजनीतिको समीकरणमा नयाँ तरंग ल्याएको छ। बालेन शाहको उम्मेदवारीसँगै विभिन्न दलका स्थानीय नेता तथा कार्यकर्ता खुलेर समर्थनमा उत्रिन थालेका छन्।
यसअघि नेपाली कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाई ले पनि पार्टी परित्याग गरी बालेन शाहको पक्षमा समर्थन जनाइसकेका छन्। कांग्रेस र एमाले दुवै पार्टीका प्रभावशाली स्थानीय नेताहरू बालेनतर्फ आकर्षित हुन थालेपछि झापा–५ को निर्वाचन थप रोचक बन्दै गएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार स्थापित दलहरूबाट असन्तुष्ट नेता–कार्यकर्ताहरूको समर्थनले बालेन शाहको अभियानलाई थप बल पुग्ने देखिन्छ

तपाईको प्रतिक्रिया