इटहरी । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर तथा निर्वाचन क्षेत्र दमकमा एमालेले गम्भीर राजनीतिक धक्का बेहोरेको छ। एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल, दमक नगर कमिटीका अध्यक्ष, सचिव र उपाध्यक्षले एकैसाथ पार्टी परित्याग गर्दै स्वतन्त्र उम्मेदवार बालेन शाहको पक्षमा उभिने घोषणा गरेका छन्।
युवा संघ दमक नगर कमिटीका अध्यक्ष छवि खतिवडा, सचिव कमलप्रसाद गैरे र उपाध्यक्ष विजय तामाङले पद तथा पार्टी परित्यागको घोषणा गरेपछि दमकलाई एमालेको ‘लालकिल्ला’ मानिँदै आएको राजनीतिक विरासतमा ठूलो कम्पन देखिएको छ।
यसअघि अध्यक्ष खतिवडाले एमालेको संगठित सदस्यसमेत नरहने गरी राजीनामा दिँदै झापा क्षेत्र नं. ५ बाट स्वतन्त्र उम्मेदवार बालेन शाहलाई समर्थन गर्ने घोषणा गरेका थिए। उनले समयको मागअनुसार परिवर्तनलाई आत्मसात् गर्दै स्वतन्त्र राजनीतिक अभियानमा लाग्ने निर्णय गरेको बताएका थिए।
लगत्तै सचिव गैरेले पनि सामाजिक सञ्जालमार्फत औपचारिक रूपमा एमालेको साधारण सदस्यबाट समेत राजीनामा दिएको जानकारी गराएका थिए। अब उपाध्यक्ष तामाङसमेत सोही समूहमा मिसिएपछि दमकमा एमालेनिकट युवाहरूको ठूलो पंक्ति स्वतन्त्र राजनीतिक धारतर्फ आकर्षित भएको देखिएको छ।
अध्यक्ष ओलीकै गृहनगर र निर्वाचन क्षेत्रमा युवा संघको नेतृत्व तह नै पार्टी त्यागेर स्वतन्त्र उम्मेदवारको चुनावी अभियानमा होमिनुलाई स्थानीय राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ। पार्टीभित्रको परम्परागत कार्यशैलीप्रति असन्तुष्ट युवा नेताहरूले ‘परिवर्तनका लागि स्वतन्त्र राजनीति’ आवश्यक भएको भन्दै बालेन शाहलाई साथ दिने निर्णय गरेपछि दमक एमालेभित्र ठूलो हलचल सिर्जना भएको छ।
युवा तहको यो असन्तुष्टि र खुला विद्रोहले आगामी निर्वाचनमा दमकको राजनीतिक समीकरणलाई कसरी प्रभावित पार्छ भन्ने विषयमा चासो बढेको छ

तपाईको प्रतिक्रिया