
इटहरी / पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने भएका छन्। विसं २०४८ सालदेखि निरन्तर डडेलधुराबाट निर्वाचित हुँदै आएका देउवाले यसपटक चुनावी प्रतिस्पर्धाबाट अलग रहने निर्णय गरेका हुन्।
देउवाको सचिवालयका अनुसार पार्टीभित्रको पछिल्लो शक्ति सन्तुलन, काँग्रेसको नेतृत्व परिवर्तन र स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै उनले उम्मेदवारी नदिने निर्णय लिएका हुन्। खासगरी काँग्रेस सभापति गगन थापाले प्रत्यक्षतर्फ टिकट नदिने स्पष्ट संकेत गरेपछि देउवा चुनावी दौडबाट पछि हटेको बुझिएको छ।
यसअघि देउवा निर्वाचनमा उठ्ने तयारीमा थिए। तर पार्टी विभाजनपछिको राजनीतिक अवस्था, आफ्नो समूहसँग आधिकारिकता नहुनु तथा नेतृत्वको निर्णयसँगै उनी ‘ब्याक’ भएको निकट स्रोतले जनाएको छ। स्वास्थ्य कारणले उनी यसपटक चुनावी प्रचार–प्रसारमा समेत सक्रिय नहुने मनस्थितिमा रहेको देउवा निकट नेताहरूले बताएका छन्।
यता देउवा समूहकै प्रभावशाली नेता पूर्णबहादुर खड्काले भने निर्वाचन लड्ने घोषणा गरेका छन्। यसअघि पार्टी सुदृढीकरणका लागि मात्रै सक्रिय रहने बताएका खड्का अब प्रत्यक्ष चुनावी मैदानमा उत्रिने भएका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज देशभर प्रत्यक्षतर्फका उम्मेदवारहरूको मनोनयन दर्ता हुँदैछ। देउवाको उम्मेदवारी नपर्ने निर्णयसँगै नेपाली काँग्रेसको आन्तरिक राजनीतिमा पुस्तान्तरण र नेतृत्व परिवर्तनको संकेत स्पष्ट देखिन थालेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।





