दुहबी, माघ ६ आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसले सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ बाट दुहबी नगरपालिकाका मेयर वेद नारायण गच्छादारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
नेपाली काँग्रेसका केन्द्रीय सभापति गगनकुमार थापाले पार्टीको तर्फबाट उम्मेदवार गच्छादारको नाममा आधिकारिक हस्ताक्षर सहितको टिकट हस्तान्तरण गरेका हुन्। यससँगै केही समययता विभिन्न सञ्चारमाध्यममा सुनसरी–३ मा काँग्रेसको उम्मेदवारबारे आएका अपुष्ट तथा भ्रामक समाचारको अन्त्य भएको छ।
टिकट प्रदान गर्दै सभापति थापाले पार्टीले विकास, सुशासन र जनअपेक्षालाई केन्द्रमा राख्दै अनुभवी तथा जनप्रिय नेतृत्वलाई अगाडि सारेको उल्लेख गरे। दुहबी नगरपालिकामा करिब दुई कार्यकाल मेयरको रूपमा सेवा गरिसकेका गच्छादार विकासप्रेमी, जनतामाझ लोकप्रिय र सक्रिय युवा नेताका रूपमा परिचित छन्।
टिकट प्राप्त भएसँगै सुनसरी–३ मा काँग्रेसजन र सर्वसाधारण मतदाताबीच उत्साह र खुशियाली छाएको छ। क्षेत्रले योग्य नेतृत्व पाएको भन्दै पार्टीका कार्यकर्ता, समर्थक तथा परिवर्तनकामी ठूलो जमातले निर्णयको स्वागत गरेका छन्।
उम्मेदवारी मनोनयन दर्ताका लागि आवश्यक प्रक्रिया अघि बढाउन क्षेत्रीय तहका कार्यकर्तालाई औपचारिक रूपमा सूचना प्रवाह भइसकेको छ। नेपाली काँग्रेसले सुनसरी–३ मा सशक्त प्रतिस्पर्धा गर्ने दाबी समेत गरेको छ

तपाईको प्रतिक्रिया