
सुनसरी । नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्व मन्त्री विजय कुमार गच्छदारले सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। योसँगै गच्छदार आठौँ पटक चुनावी मैदानमा होमिएका छन्।
पार्टी सभापति गगनकुमार थापाले हस्ताक्षर गरेको आधिकारिक टिकट बोकेर विजय गच्छदार निर्वाचन अधिकृतको कार्यालय पुगेपछि दिनभर सुनसरीको राजनीतिक वातावरण अन्योलपूर्ण बनेको थियो। कारण, सोही क्षेत्रबाट उनका भाइ तथा दुहबी नगरपालिकाका प्रमुख वेद नारायण गच्छदारले पनि टिकट पाएको विषय सार्वजनिक भएपछि पार्टीभित्र विवाद चर्किएको थियो।
दिनभर चलेको आन्तरिक छलफल, शीर्ष नेतृत्वसँगको परामर्श तथा स्थानीय तहका नेताहरूको पहलपछि अन्ततः दुहबी नगरप्रमुख वेद गच्छदार उम्मेदवारीबाट पछि हटेका हुन्। त्यसपछि अन्तिम समयमा विजय गच्छदारले उम्मेदवारी दर्ता गराएका छन्।
विजय गच्छदारले २०२७ सालमा महेन्द्र मोरङ क्याम्पसबाट नेपाल विद्यार्थी सङ्घमार्फत राजनीतिक यात्रा सुरु गरेका थिए। लामो राजनीतिक जीवनमा उनी १८ पटक मन्त्री भइसकेका अनुभवी नेता हुन्। सुनसरी जिल्लाको राजनीतिमा प्रभावशाली व्यक्तित्वका रूपमा परिचित गच्छदार यसपटक पनि काँग्रेसको मुख्य उम्मेदवारका रूपमा मैदानमा उत्रिएका छन्।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीसँग पाँच हजारभन्दा बढी मतान्तरले पराजित भएका थिए। सो हारपछि पुनः जनमत फर्काउने लक्ष्यसहित गच्छदार यसपटकको निर्वाचनमा सक्रिय देखिएका छन्।
यसैबीच नेपाली काँग्रेसले सुनसरीका अन्य क्षेत्रहरूमा पनि उम्मेदवारी दर्ता गराइसकेको छ। काँग्रेसका तर्फबाट सुनसरी–१ मा सुरेन्द्र तामाङ, सुनसरी–२ मा राजीव कोइराला र सुनसरी–४ मा ज्ञानेन्द्र बहादुर कार्कीले उम्मेदवारी दर्ता गराएका छन्।
सुनसरी–३ मा एकै परिवारका दुई नेताले टिकट ल्याएपछि उत्पन्न विवाद अन्ततः आपसी सहमति र पार्टी एकताको सन्देशसहित टुंगिएको काँग्रेस नेताहरूले बताएका छन्। पार्टीभित्रको एकता कायम राख्दै विजय गच्छदारलाई उम्मेदवार बनाउने निर्णयले चुनावी प्रतिस्पर्धा थप रोचक हुने देखिएको छ।





