इटहरी  । नेकपा एमालेले सुनसरी क्षेत्र नं. ४ मा उम्मेदवार परिवर्तन गर्दै अब्बुल अन्सारीलाई प्रतिनिधिसभा सदस्यको टिकट दिएको छ। यसअघि सो क्षेत्रबाट जगदीश कुसियैतको नाम क्षेत्रीय तथा जिल्ला कमिटीबाट एकल रूपमा सिफारिस भएको थियो।
अब्बुल अन्सारी यसअघि नेपाली कांग्रेसबाट सोही क्षेत्रका लागि उम्मेदवार बन्ने तयारीमा थिए। कांग्रेसबाट टिकट नपाएपछि उनी एमालेमा प्रवेश गरेका हुन्। एमाले नेतृत्वले अन्तिम निर्णय गर्दै अन्सारीलाई उम्मेदवार बनाएपछि सुनसरी–४ मा पार्टीभित्र असन्तोष देखिएको छ।
एकल नाम सिफारिस हुँदाहुँदै पनि उम्मेदवार फेरबदल गरिएको भन्दै स्थानीय नेता–कार्यकर्ता आक्रोशित बनेका छन्। एमाले सुनसरीका इन्चार्जसमेत रहेका जगदीश कुसियैतले आफू कुनै पनि हालतमा पछि नहट्ने स्पष्ट धारणा सार्वजनिक गरेका छन्।
पार्टी स्रोतका अनुसार कुसियैतलाई सुनसरी क्षेत्र नं. २ बाट उम्मेदवार बनाउने तयारी भएको थियो। तर कुसियैतले भने सुनसरी–२ बाट उम्मेदवार नहुने स्पष्ट पारेका छन्। यसअघि आइतबार साँझ एमालेले सुनसरी–२ बाट रेवती रमण भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।
उम्मेदवार चयनमा भएको यो फेरबदलले सुनसरीमा एमालेको आन्तरिक राजनीति थप तातेको छ भने आगामी निर्वाचनको प्रतिस्पर्धा झनै रोचक बन्ने संकेत देखिएको छ।

तपाईको प्रतिक्रिया