इटहरी । प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सोमबारदेखि कल सेन्टर सेवा सञ्चालनमा ल्याएको छ। निर्वाचनसम्बन्धी सूचना, जिज्ञासा र गुनासोको सहज सुनुवाइ गर्न यो सेवा सुरु गरिएको हो।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मतदाता, नागरिक तथा सरोकारवालाहरूले निर्वाचन प्रक्रियासम्बन्धी कुनै पनि जिज्ञासा राख्न सक्ने उद्देश्यले कल सेन्टर स्थापना गरिएको हो। “आजबाट कल सेन्टर औपचारिक रूपमा सुरु भएको छ। हाल कार्यालय समय बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सेवा प्रदान गरिन्छ। आवश्यकता अनुसार सेवा समय क्रमशः विस्तार गरिनेछ,” उहाँले जानकारी दिनुभयो।
निर्वाचन आयोगले ६ वटा डेस्कमार्फत कल सेन्टर सेवा प्रदान गर्ने व्यवस्था गरेको छ। निःशुल्क टोल–फ्री नम्बर ११०२ मा फोन गरेर मतदाता नामावली, मतदान प्रक्रिया, उम्मेदवारी, आचारसंहिता लगायत निर्वाचनसम्बन्धी विविध विषयमा जानकारी लिन सकिने आयोगले जनाएको छ।
एकै पटक अधिकतम १५ जनासम्मले फोन गर्दा पनि कल होल्डमा बस्न नपर्ने गरी प्राविधिक व्यवस्था मिलाइएको छ। सोमबारदेखि सुरु भएको यो कल सेन्टर सेवा निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र वितरणको अवधिसम्म निरन्तर सञ्चालनमा रहनेछ।
निर्वाचन प्रक्रियालाई पारदर्शी, विश्वसनीय र जनमुखी बनाउन कल सेन्टरले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा आयोगले गरेको छ।

तपाईको प्रतिक्रिया