इटहरी  । काठमाडौँ महानगरपालिकाका मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रभावशाली नेता बालेन्द्र शाह (बालेन) ले आफ्नो राजनीतिक यात्राको नयाँ चरण सुरु गर्न मधेसको राजधानी जनकपुरलाई रोजेका छन् । अझ चासोको विषय के छ भने, उनले मधेस प्रवेशका लागि माघ ५ जस्तो ऐतिहासिक र संवेदनशील दिन नै किन छाने ? भन्ने प्रश्न अहिले राजनीतिक वृत्तमा व्यापक चर्चामा छ ।
बालेन माघ ५ गते जनकपुर पुग्दैछन् । सोही दिन रास्वपाले मधेस आन्दोलनको सम्झनामा जनकपुरमा विशेष कार्यक्रम आयोजना गर्दैछ, जहाँ बालेनसँगै पार्टी सभापति रवि लामिछाने मुख्य वक्ताका रूपमा सहभागी हुनेछन् । बालेन झापा–५ बाट प्रतिनिधिसभा सदस्यको चुनाव लड्ने तयारीमा छन् र जनकपुरबाटै चुनावी अभियान सुरु गर्न लागेका छन् ।
माघ ५ : मधेसका लागि ऐतिहासिक दिन
माघ ५ मधेस प्रदेशका लागि केवल एउटा मिति मात्र होइन । यही दिन, २०६३ सालमा मधेस आन्दोलन सुरु भएको थियो । पहिचान, समानता, संघीयता र गणतन्त्रको मागसहित सुरु भएको आन्दोलनमा डेढ सयभन्दा बढी मधेसी नागरिकले ज्यान गुमाएका थिए भने हजारौँ घाइते भए । त्यसैको सम्झनामा माघ ५ लाई मधेस सहिद (बलिदानी) दिवस का रूपमा मनाइँदै आएको छ ।
हरेक वर्षझैँ यस वर्ष पनि मधेस केन्द्रित दल र विभिन्न संघ–संस्थाले माघ ५ लाई बलिदानी दिवसका रूपमा मनाउने निर्णय गरिसकेका छन् । यही ऐतिहासिक सन्दर्भलाई समातेरेर रास्वपाले बालेनलाई मधेसमा उतार्नुलाई राजनीतिक रूपमा रणनीतिक कदम का रूपमा हेरिएको छ ।
मधेसी जनताको ध्यान तान्ने प्रयास
रास्वपाले माघ ५ को विद्रोह र बलिदानीको भावनालाई प्रयोग गर्दै मधेसी जनताको ध्यानाकर्षण गर्न खोजेको देखिन्छ । बालेनको यो कार्यक्रम मधेसमा उनको पहिलो ठूलो सार्वजनिक सम्बोधन हुनेछ । पार्टी स्रोतका अनुसार, मधेसप्रति अपनत्व देखाउन बालेनले मधेसी भेषभूषामा मैथिली भाषामै सम्बोधन गर्ने तयारी गरेका छन् ।
संयोग कि सचेत रणनीति ?
तर सबैले यसलाई योजनाबद्ध निर्णय मानेका छैनन् । मधेस प्रदेश नीति आयोगका निवर्तमान उपाध्यक्ष सोहन साह भन्छन्,
“माघ ५ नै रोजिएको कुरा संयोग पनि हुन सक्छ । चुनावी चटारोमा माघ ४ गते मेयर पदबाट राजीनामा, माघ ६ गते उम्मेदवारी दर्ताको तयारी—बीचमा ५ गते जनकपुरमा कार्यक्रम पर्‍यो होला ।”
यद्यपि साह स्वयं स्वीकार्छन् कि माघ ५ को प्रतीकात्मक महत्त्वलाई प्रयोग गरेर रास्वपाले संघीयता र गणतन्त्रको पक्षमा आफू उभिएको सन्देश दिन खोजेको हुनसक्छ ।
अघिल्लो सन्दर्भ र राजनीतिक संकेत
२०७९ माघ ५ मा संसद्मा बलिदानी दिवसको सम्झनामा मौन धारण गर्ने क्रममा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँगै रास्वपाका सभापति रवि लामिछाने पनि उभिएका थिए । मधेसवादी दलका सांसद र केही कांग्रेस सांसदले समर्थन जनाउँदा तत्कालीन प्रधानमन्त्री प्रचण्ड भने मौन बसेका थिए । त्यो घटनाले पनि रास्वपाको मधेसप्रतिको धारणा सार्वजनिक रूपमा देखाएको थियो ।
रास्वपाको स्पष्ट सन्देश
रास्वपाका मधेस प्रदेश नेता दीपक महतो भन्छन्,
“संघीयता, लोकतन्त्र र गणतन्त्रको विषयमा रास्वपामाथि प्रश्न उठिरहेका बेला बलिदानी दिवसकै दिन कार्यक्रम गरेर पार्टीको धार स्पष्ट गर्न खोजिएको हो ।”
पार्टी प्रवक्ता मनिष झा, जो स्वयं मधेस आन्दोलनमा प्रत्यक्ष संलग्न नेता हुन्, उनकै गृह जिल्ला धनुषा–३ मा यो कार्यक्रम आयोजना हुँदैछ । झा पनि सोही क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन् ।
माघ ५ को जनकपुर कार्यक्रम केवल एउटा राजनीतिक सभा मात्र होइन । यो मधेस आन्दोलनको इतिहास, बलिदानीको स्मृति र समसामयिक चुनावी राजनीतिलाई जोड्ने प्रयास हो । बालेन र रास्वपाले यस दिनलाई रोज्नु संयोग होस् वा सचेत रणनीति—यसले मधेस राजनीतिमा नयाँ तरंग सिर्जना गर्ने निश्चित छ ।

तपाईको प्रतिक्रिया