इटहरी  । निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वमा गठन भएको नेपाली कांग्रेसको केन्द्रीय समितिलाई औपचारिक रूपमा मान्यता दिएको छ। आयोगले शुक्रबार थापालाई नेपाली कांग्रेसको सभापतिका रूपमा आधिकारिक मान्यता प्रदान गरेको हो।
राजधानीको भृकुटीमण्डपमा पुस २७ देखि ३० गतेसम्म सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा बहुमत महाधिवेशन प्रतिनिधिको समर्थनसहित सभापतिमा निर्वाचित भएका थिए। विशेष महाधिवेशनपछि बिहीबार बसेको केन्द्रीय समिति बैठकले गरेका निर्णयसहित आवश्यक कागजात लिएर थापा निर्वाचन आयोग पुगेका थिए।
आयोगका अनुसार पेश गरिएका सबै कागजात, निर्णय तथा विधानअनुसारको प्रक्रिया अध्ययन र परीक्षणपछि थापा नेतृत्वको केन्द्रीय समितिलाई वैधानिकता प्रदान गरिएको हो। यससँगै नेपाली कांग्रेसभित्र देखिएको नेतृत्वसम्बन्धी अन्योल औपचारिक रूपमा अन्त्य भएको छ।
निर्वाचन आयोगको यस निर्णयपछि गगन थापा नेतृत्वको कांग्रेस अब संवैधानिक र कानुनी रूपमा मान्य दलको रूपमा सबै राजनीतिक गतिविधि सञ्चालन गर्न सक्षम भएको छ। पार्टी स्रोतका अनुसार अब संगठन विस्तार, आगामी निर्वाचनको तयारी तथा नीतिगत एजेन्डामा केन्द्रित हुने तयारी गरिएको छ।
विशेष महाधिवेशनमार्फत नेतृत्वमा आएका थापाले पार्टीलाई युवामुखी, पारदर्शी र संगठनात्मक रूपमा सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्। आयोगको मान्यतासँगै उनको नेतृत्वलाई थप राजनीतिक वैधता र बल प्राप्त भएको विश्लेषकहरू बताउँछन्।

तपाईको प्रतिक्रिया