इटहरी  । नेपाली काँग्रेसभित्र चुलिँदै गएको आन्तरिक विवादले निर्णायक मोड लिँदै गर्दा महामन्त्री गगन थापाले आफूहरू नै आधिकारिक नेपाली काँग्रेस भएको दाबी गरेका छन्। पार्टी सभापति शेरबहादुर देउवा पक्षले कारबाहीको निर्णय गरेलगत्तै सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै थापाले विशेष महाधिवेशन पक्षधर नै वैधानिक काँग्रेस भएको बताएका हुन्।
थापाले विधानबमोजिम बोलाइएको विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेपछि पार्टीको आधिकारिकता स्वतः विशेष महाधिवेशन पक्षकै हुने दाबी गरे। “अब ढुक्कसँग नेतृत्व चयनको प्रक्रिया अघि बढाउने बाटो खुलेको छ,” उनले भने, “निर्वाचनपछि पार्टीको आधिकारिक जानकारी निर्वाचन आयोगमा औपचारिक रूपमा गराइनेछ।”
उनका अनुसार पार्टीको चुनाव चिन्ह ‘रुख’ र चारतारे झण्डा पनि विशेष महाधिवेशन पक्षसँगै रहनेछ। यसले देउवा पक्षलाई औपचारिक रूपमा ‘नाम मात्रको काँग्रेस’ बनाउने दाबी काँग्रेसभित्रका विशेषमहाधिवेशन पक्षधर नेताहरूले गरेका छन्।
कारबाहीपछि नाराबाजी
गगन थापा, विश्वप्रकाश शर्मा र फर्मुल्लाह मन्सुरविरुद्ध कारबाहीको निर्णय सार्वजनिक भएलगत्तै विशेष महाधिवेशन स्थलमा तनावपूर्ण अवस्था सिर्जना भएको थियो। काँग्रेस कार्यकर्ताहरूले शेरबहादुर देउवाविरुद्ध चर्को नाराबाजी गर्दै पार्टीभित्रको हैकमवादी नेतृत्व स्वीकार्य नहुने स्पष्ट सन्देश दिएका थिए।
काँग्रेसभित्र शक्ति संघर्ष उत्कर्षमा
काँग्रेसभित्र लामो समयदेखि देखिँदै आएको नेतृत्वको केन्द्रीकरण, विधान कार्यान्वयन र आन्तरिक लोकतन्त्रको विषय अहिले खुला टकरावमा परिणत भएको छ। विशेष महाधिवेशन पक्षले आफूहरू बहुमत महाधिवेशन प्रतिनिधिको समर्थनमा रहेको दाबी गर्दै वैधानिकताको आधार प्रस्तुत गरिरहेको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार विशेष महाधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएमा नेपाली काँग्रेस औपचारिक रूपमा दुई धारमा विभाजित हुने सम्भावना बढेको छ। यस्तो अवस्थामा निर्वाचन आयोगको भूमिका निर्णायक हुने बताइएको छ।
नेपाली काँग्रेसको यो आन्तरिक संघर्षले देशको समग्र राजनीतिमा समेत गहिरो असर पार्ने देखिएको छ।

तपाईको प्रतिक्रिया