इटहरी । विभाजनको संघारमा पुगेको नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधान गर्न औपचारिक वार्ता प्रक्रिया सुरु हुने भएको छ। पार्टीभित्र देखिएको मतभेद अन्त्य गर्न विशेष महाधिवेशनको नेतृत्व गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले वार्ता समिति गठन गरेका छन्।
महामन्त्रीद्वयको पहलमा गठन गरिएको चार सदस्यीय वार्ता समितिमा नेताहरू प्रदीप पौडेल, गुरु घिमिरे, देवराज चालिसे र मधु आचार्य रहेका छन्। समितिले संस्थापन पक्षसँग संवाद गरी सहमतिको बाटो खोज्ने जिम्मेवारी पाएको छ।
संस्थापन पक्षबाट उपसभापति पूर्णबहादुर खड्का, नेता रमेश लेखक र बालकृष्ण खाँण वार्तामा सहभागी हुनेछन्। पार्टी एकता जोगाउन र बढ्दो असन्तुष्टि व्यवस्थापन गर्न यो वार्तालाई निर्णायक मानिएको छ।
भृकुटीमण्डपमा आइतबारदेखि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन जारी छ। आन्तरिक लोकतन्त्र, विधानको कार्यान्वयन र नेतृत्वको भूमिकालाई लिएर उठेका प्रश्नहरूबीच सुरु हुन लागेको वार्ताले कांग्रेसको भावी दिशा तय गर्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया