इटहरी । नेपाली संगीत तथा फिल्म क्षेत्रका चर्चित गायक–नायक प्रशान्त तामाङको निधन भएको छ। इन्डियन आइडल सिजन–३ का विजेता तथा नेपाली फिल्मका लोकप्रिय कलाकार तामाङको दिल्लीस्थित निवासमा हृदयाघातका कारण निधन भएको हो।
प्रशान्त तामाङको निधनको खबर सार्वजनिक भएसँगै नेपाली कला–संगीत क्षेत्र शोकमा डुबेको छ। उनका सहकर्मी, कलाकार तथा प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।
गायक प्रमोद खरेलले सामाजिक सञ्जालमा लेखेका छन्,
“कस्तो अप्रिय र अपत्यारिलो खबर सुन्नुपर्‍यो। प्रिय प्रशान्त तामाङ हामीबीच रहनुभएन। उफ्… वैकुण्ठमा वास होस्।”
त्यस्तै, संगीतकार अर्जुन पोखरेलले पनि गहिरो दुःख व्यक्त गर्दै लेखेका छन्,
“नेपाली मन–मुटुमा बस्न सफल प्रशान्त तामाङ हामी माझ रहेनन् भन्ने खबर आयो। मन भारी भयो, अत्यन्तै नरमाइलो लाग्यो। यो खबर असत्य होस् भन्ने मनले चाह्यो। आत्माको चिरशान्तिको कामना।”
प्रशान्त तामाङको जन्म भारतको दार्जीलिङ जिल्लास्थित तुङ्सुङ भन्ने स्थानमा भएको थियो। इन्डियन आइडलको उपाधि जितेपछि उनी नेपाली र भारतीय दर्शकमाझ एकाएक लोकप्रिय बनेका थिए। गायनसँगै अभिनयमा पनि सक्रिय तामाङले केही नेपाली चलचित्रमा नायकको रूपमा अभिनय गरेका थिए।
उनको असामयिक निधनले नेपाली कला–संस्कृति क्षेत्रमा अपूरणीय क्षति पुगेको कलाकार तथा संगीतकर्मीहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया