
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा आफू प्रहरीको घुमुवा हुँ भन्दै होटल तथा रेस्टुरेन्टहरूबाट अवैध रूपमा चन्दा असुली गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय धरानको टोलीले शनिबार राति धरान–१८ स्थित विभिन्न होटलहरूमा चन्दा उठाउँदै गरेको अवस्थामा नक्कली प्रहरीलाई पक्राउ गरेको हो। पक्राउ पर्ने व्यक्ति धनकुटाको सहिदभूमि गाउँपालिका–७ निवासी ३५ वर्षीय धनबहादुर राई रहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक (डिएसपी) भीषणबाबु राईले जानकारी दिए।
प्रहरीका अनुसार धनबहादुरले आफू इलाका प्रहरी कार्यालय धरानको घुमुवा प्रहरी भएको भन्दै होटल व्यवसायीहरूलाई डरत्रास देखाई रकम असुल्दै आएका थिए। उनको गतिविधि शंकास्पद लागेपछि होटल व्यवसायीहरूले प्रहरीलाई खबर गरेका थिए। सोही सूचनाका आधारमा गरिएको अनुसन्धानबाट उनी नक्कली प्रहरी रहेको पुष्टि भएको हो।
पक्राउ परेका धनबहादुरको साथबाट प्र–१–०२–०५९ प ३०७६ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ। उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखिएको छ।
प्रहरीले सर्वसाधारण तथा व्यवसायीहरूलाई कसैले प्रहरी वा सरकारी निकायको नाममा रकम मागेमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ।





