
इटहरी / दुहबी नगरपालिका लघु उद्यम विकास शाखाको आयोजनामा सञ्चालित कपडामा अचरा फुलबुट्टा भर्ने १ महिने स्तरवृद्धि तालिम बिहीबार सम्पन्न भएको छ।
दुहबी नगरपालिका–११ तनमुनाका ११ जना महिलालाई लक्षित गरी सञ्चालन गरिएको उक्त तालिमको समापन समारोहमा नगर प्रमुख वेद नारायण गच्छादारले सहभागी महिलालाई प्रमाणपत्र वितरण गर्नुभयो।
यसअघि गत वर्ष पनि दुहबी नगरपालिकाले सोही समूहका महिलालाई तालिम प्रदान गरी उद्यम सञ्चालनका लागि बिउ पुँजी स्वरूप सिलाइ मेसिन (प्रविधि) हस्तान्तरण गरेको थियो। तालिमपश्चात महिलाहरूले व्यवसाय सञ्चालन गरिरहेको अवस्थामा थप दक्षता आवश्यक देखिएकाले नगर प्रमुख गच्छादारको पहलमा पुनः १ महिने स्तरवृद्धि तालिम सञ्चालन गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख गच्छादारले दुहबीका युवायुवतीलाई कुनै न कुनै माध्यमबाट रोजगारीसँग जोडेर आर्थिक तथा सामाजिक रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। लघु उद्यममार्फत बेरोजगार तथा घरायसी काममा सीमित महिलालाई सिपमूलक तालिम र बिउ पुँजी उपलब्ध गराउँदै व्यवसायिकता र आत्मनिर्भरताको अभियान निरन्तर अघि बढाइरहेको उहाँले बताउनुभयो।
“मेरो सपना भनेकै नगरवासीको सन्तुष्टि र सहज जीवनयापन हो,” उहाँले भन्नुभयो, “आर्थिक अवस्था सुदृढ नभएसम्म सामाजिक तथा पारिवारिक हिंसा र परनिर्भरताको अन्त्य सम्भव हुँदैन। त्यसैले बेरोजगार युवायुवती, अपाङ्गता भएका नागरिक र उद्यमी बन्न चाहने सबैलाई सकेको स्रोत–साधन र सिप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछु।”
कार्यक्रममा वरिष्ठ उद्यम विकास सहजकर्ता दिवेश चौधरी, सहजकर्ता शशिकला विश्वासलगायतको उपस्थिति रहेको थियो।





