इटहरी। ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार राति प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसमक्ष औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन्।
घिसिङ गत भदौ ३० गते ऊर्जामन्त्रीमा नियुक्त भएका थिए। ऊर्जा मन्त्रालयसँगै उनलाई भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको अतिरिक्त जिम्मेवारीसमेत दिइएको थियो।
राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्न थालेपछि प्रधानमन्त्री कार्कीले उनलाई पदबाट मार्गप्रशस्त गर्न सुझाव दिँदै आएकी थिइन्। यही सन्दर्भमा उनले मन्त्री पदबाट अलग हुने निर्णय गरेका हुन्।
यसअघि गत पुस १४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच ७ बुँदे राजनीतिक सहमति भएको थियो। सो सहमतिअनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा दुवै पक्ष मिलेर अघि बढ्ने समझदारी गरिएको छ।
सहमति अनुसार घिसिङ रास्वपाको दोस्रो वरीयताको नेतासहित उपसभापति पदको जिम्मेवारी सम्हाल्ने तय भएको बताइएको छ।






