विराटनगर । मोरङको रंगेली नगरपालिकामा रहेको प्रसिद्ध संसारी माई मन्दिरमा चोरी भएको छ। आइतबार राति मन्दिरको चेन गेट फोडी अज्ञात समूहले देवीदेवताका मूर्ति, गरगहना तथा दान पेटिकामा संकलित नगद चोरी गरेको मोरङ प्रहरीले जनाएको छ।
मोरङ प्रहरीका प्रवक्ता कोपिला चुँडालका अनुसार चोरीमा संसारी माताका दुई थान साना मूर्ति, ठूलो मूर्तिमा चढाइएका चाँदीका गरगहना तथा दान पेटिकाको सिसा फुटाएर त्यसभित्र रहेको नगद लगिएको छ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली मन्दिर परिसरमा पुगेर मुचुल्का उठाउने, क्षतिग्रस्त चेन गेट तथा दान पेटिकाको अवस्था निरीक्षण गर्ने र चोरी भएको समय तथा तरिकाबारे प्रारम्भिक अनुसन्धान अघि बढाएको छ।
प्रहरीका अनुसार दान पेटिकामा रहेको नगदको यकिन रकम मन्दिरको नियमित हिसाबकिताब तथा अभिलेख जाँचपछि मात्र खुल्नेछ। हाल प्रहरीले चोरीमा संलग्न व्यक्तिहरूको पहिचानका लागि स्थानीय बासिन्दासँग सोधपुछ गरिरहेको र आसपासका क्षेत्रमा अनुसन्धान तीव्र बनाइएको जनाएको छ।
धार्मिक आस्थासँग जोडिएको मन्दिरमै चोरी भएको घटनाले स्थानीय बासिन्दामा आक्रोश र चिन्ता बढाएको छ। सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन स्थानीयवासीहरूले प्रशासनसँग माग गरेका छन्।




