
इटहरी /पूर्व राजा ज्ञानेन्द्र शाहले आज विराटनगरस्थित प्रसिद्ध काली मन्दिरको शान्त रूपमा दर्शन गरेका छन्। राजावादी कार्यकर्ता तथा सुरक्षाकर्मीलाई समेत पूर्व जानकारी नदिई उनी सुटुक्क मन्दिर पुगेका हुन्।
पूर्व राजा मन्दिरमा पुग्दा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मिनाक्षी नेपालसहित पुजारीहरू भने उपस्थित थिए। मन्दिर परिसरमा प्रवेश गरेपछि उनले विधिपूर्वक पूजा–आराधना गरेका थिए। पूर्व राजा मन्दिरमा पुगेको जानकारी पाएपछि केही सुरक्षाकर्मी भने पछि मात्र मन्दिर परिसरमा आइपुगेका थिए।
दर्शनका क्रममा अध्यक्ष नेपालले काली मन्दिरको ऐतिहासिक तथा धार्मिक महत्वबारे जानकारी गराएकी थिइन्। करिब १० मिनेटजति मन्दिरमा बिताएपछि पूर्व राजा शाह मन्दिरबाट बाहिरिएका थिए।
पूर्व राजा ज्ञानेन्द्र शाह पछिल्ला केही दिनयता झापाको दमकस्थित आफ्नो चिया बगानमा बस्दै आएका छन्। सोही चिया बगानबाट आज बिहान उनी सुटुक्क विराटनगर आएका थिए !





