
इटहरी । लामो समयदेखि जारी राजनीतिक संवाद र कसरतपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच अन्ततः मध्यरात सात बुँदे सहमति भएको छ।
सहमति अनुसार रास्वपाका सभापति रवि लामिछाने पार्टी सभापति नै रहनेछन् भने बालेन आगामी प्रतिनिधिसभा निर्वाचनमा रास्वपाकातर्फबाट प्रधानमन्त्रीका उम्मेदवार हुने तय भएको छ। आइतबार राति सम्पन्न लामो बैठकपछि दुवै पक्षबीच यो सहमति भएको हो।
राजनीतिक वृत्तमा चासोका साथ हेरिएको यस सहमतिलाई वैकल्पिक राजनीति र युवा नेतृत्वबीचको नयाँ अध्यायको रूपमा हेरिएको छ।
यस्तो छ रास्वपा–बालेन एकता सहमतिका सात बुँदाको पूर्णपाठः
१. नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध सञ्चालन गरेको आन्दोलनको अपनत्व लिँदै घाइते तथा सहिद परिवारका मागहरूलाई यथोचित सम्बोधन गर्ने प्रतिबद्धता।
२. समुन्नति र सामाजिक न्यायका राष्ट्रिय लक्ष्यहरू प्राप्त गर्न आवश्यक गहिरा नीतिगत, संस्थागत तथा संरचनात्मक सुधारमार्फत आर्थिक–सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको विकास गर्दै आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम–आय भएको राष्ट्र बनाउने मार्गचित्र इमान्दारीपूर्वक कार्यान्वयन गर्ने।
३. बृहत् एकतापछि स्थापित हुने राजनीतिक दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ रहने, दलको झण्डा साविककै निलो पृष्ठभूमिमा सेतो गोलाकार भित्र निलो रङको घण्टी रहने तथा चुनाव चिन्ह ‘घण्टी’ नै कायम रहने। केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने।
४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने।
५. पार्टी संगठनलाई थप सक्षम र फराकिलो बनाउँदै युवा अभियन्ता र अनुभवी विज्ञहरूको समुचित समायोजन गर्ने, जिम्मेवारी बाँडफाँड गर्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार बनाउने।
६. आसन्न आमनिर्वाचन लगत्तै यस सहमतिअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीसम्बन्धी सम्पूर्ण विवरण निर्वाचन आयोगमा अद्यावधिक गर्ने।
७. पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’ मा गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका एजेन्डा अघि बढाउन अन्य परिवर्तनकामी तथा सुसंस्कृत वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आह्वान गर्ने।
यस सहमतिसँगै नेपाली राजनीतिक परिदृश्यमा वैकल्पिक शक्तिहरूबीचको सहकार्यले नयाँ बहस र सम्भावनाको ढोका खोलेको विश्लेषण हुन थालेको छ।





