इटहरी  । जेन–जी आन्दोलनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेकी पूर्वमन्त्री सुमना श्रेष्ठ पुनः सक्रिय राजनीतिमा फर्किने तयारीमा देखिएकी छन्। स्रोतका अनुसार उनी काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको टिममार्फत रास्वपामै समाहित हुन लागेकी हुन्।

पार्टीभित्र एक व्यक्तिको अत्यधिक महिमामण्डन, फरक मत राख्नेहरूप्रति असहिष्णुता र आफूमाथि भएको अनावश्यक मिडिया ट्रायललाई कारण देखाउँदै सुमनाले गत भदौ २९ गते रास्वपा परित्यागको घोषणा गरेकी थिइन्। त्यसपछि उनी सक्रिय राजनीतिबाट केही समय अलग रहँदै वैकल्पिक राजनीतिक धार निर्माणको सम्भावनाबारे छलफलमा जुटेकी थिइन्।
यस अवधिमा सुमनाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, युवा अभियन्ता सुदन गुरुङ र मेयर बालेन साहसँग निरन्तर संवाद गर्दै आएकी थिइन्। राजनीतिमा नयाँ शैली, कार्यकुशलता र परिणाममुखी नेतृत्व आवश्यक रहेको निष्कर्षसहित उनीहरूबीच साझा धार बनाउने प्रयास हुँदै आएको बताइन्छ।
हालै रास्वपाका सभापति रवि लामिछाने र बालेन साहबीच सहकार्य गरेर अघि बढ्ने सहमति बनेपछि सुमना श्रेष्ठ पनि सोही धारमा समाहित हुने तयारीमा पुगेको स्रोतको दाबी छ। यसले केही समयदेखि चर्चामा रहेको ‘वैकल्पिक राजनीतिक मोर्चा’ को बहसलाई औपचारिक दिशातर्फ मोडेको संकेत गरेको छ।
स्रोतका अनुसार आगामी प्रतिनिधिसभा निर्वाचनमा सुमना श्रेष्ठलाई बालेन साहको टिमको सिफारिसमा रास्वपाबाट समानुपातिक उम्मेदवारका रूपमा अघि सार्ने सम्भावना बलियो छ। शिक्षित, नीतिगत रूपमा स्पष्ट र प्रशासनिक अनुभव भएकी नेतृका रूपमा सुमनाको पुनरागमनले रास्वपाको आन्तरिक समीकरणमा नयाँ सन्तुलन ल्याउने आंकलन गरिएको छ।
राजनीतिमा ‘ब्रेक’ लिए पनि सुमनाले वैचारिक गतिविधि र सार्वजनिक बहसमा निरन्तर सक्रियता देखाउँदै आएकी थिइन्। उनको पुनरागमनलाई जेन–जी राजनीतिको अर्को अध्यायका रूपमा पनि हेरिएको छ।

तपाईको प्रतिक्रिया