
इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच राजनीतिक सहकार्यको सहमति सार्वजनिक भएसँगै धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ खुला असन्तुष्टि व्यक्त गर्दै आएका छन्।
आइतबार बिहानदेखि नै साम्पाङ सामाजिक सञ्जालमा आक्रोशित देखिएका छन्। उनका शब्दहरूमा कुनै कूटनीतिक नरमपन देखिँदैन, बरु लगातार आक्रमक टिप्पणीमार्फत उनले रवि–बालेन सहकार्यप्रति आफ्नो असहमति सार्वजनिक गरिरहेका छन्।
साम्पाङले बिहान ७:२६ बजे पहिलो फेसबुक स्टाटस पोस्ट गरेपछि अपराह्न ३ बजेसम्म ४२ वटा स्टाटस तथा भिडियो लिङ्क सेयर गरिसकेका छन्। ती सबै पोस्टहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रवि–बालेन सहकार्यलाई लक्षित छन्।
उनको फेसबुक टाइमलाइन राजनीतिक टिप्पणी, व्यंग्य र आलोचनाले भरिएको छ। सहकार्यको घोषणापछि आफूलाई बेवास्ता गरिएको संकेत गर्दै उनले ‘राजनीतिक मूल्य, सिद्धान्त र इमान्दारितामाथि प्रश्न उठेको’ भाव झल्किने अभिव्यक्ति दिएका छन्।
रवि–बालेन सहकार्यलाई कतिपयले नयाँ राजनीतिक ध्रुवीकरणको संकेतका रूपमा हेरेका बेला हर्क साम्पाङको यस्तो प्रतिक्रिया भने वैकल्पिक राजनीतिभित्रकै असन्तुष्टि र तनावको प्रतिबिम्बका रूपमा देखिएको छ।
एकै दिन यति ठूलो संख्यामा स्टाटस लेखिनु साम्पाङको असन्तोषको गहिराइ मात्र होइन, वैकल्पिक राजनीतिमा बढ्दै गएको शक्ति-सन्तुलनको रस्साकस्सीलाई पनि संकेत गर्ने विश्लेषण हुन थालेको छ।





