इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच रातभर चलेको छलफलपछि सातबुँदे समझदारी भए पनि उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ उक्त सहमतिबाट बाहिरिएका छन्।
पुस १३ गते बिहान करिब ४ बजे टुंगिएको समझदारीमा घिसिङबारे कुनै उल्लेख छैन। बैठकमा सहभागी स्रोतका अनुसार, छलफल जारी रहँदा घिसिङ भने राति नै बैठकस्थलबाट निस्किएका थिए। पछिल्ला केही दिनदेखि वैकल्पिक राजनीतिक शक्तिलाई एक ठाउँमा ल्याउने प्रयासस्वरूप भइरहेको वार्तामा मेयर बालेनले घिसिङलाई पनि समेट्ने मोडालिटीमा छलफल गरिरहेका थिए।
तर, शनिबार मात्र उज्यालो नेपाल पार्टीको केन्द्रीय कमिटी बैठकले रवि लामिछाने सभापति र बालेन शाह प्रधानमन्त्रीको उम्मेदवार हुने गरी वैकल्पिक शक्ति एकीकृत गर्ने प्रस्ताव अस्वीकार गरेको थियो। यही निर्णयपछि बेलुकी बालेन र कुलमानबीच बालुवाटारमा छुट्टै ‘वान–अन–वान’ वार्ता भएको थियो।
रास्वपा र बालेनसँग समन्वयमा रहेका उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डा. अभिषेक सिंह भन्छन्,
“हिजो साँझ ७ बजेदेखि उहाँहरूबीच एक्लाएक्लै संवाद भएको थियो। तर, के–के विषयमा कुरा भयो भन्ने जानकारी बाहिर आएको छैन।”
कुलमान निकट नेताहरूका अनुसार, उनले समझदारीमा सम्मानजनक भूमिका खोजेका थिए। विगतमा रवि लामिछाने कारागारमा रहेका बेला समेत उनलाई पार्टीमा समेट्ने विषयमा पटक–पटक छलफल भएको थियो। तर यसपटक रास्वपाका नेताहरू बालेनसँग मात्र सहमति गर्न इच्छुक देखिएका थिए।
उता, बालेन पक्षले भने कुलमान र जेन–जी समूहलाई समेत एकैपटक समेटेर अघि बढ्नुपर्ने अडान राख्दै ५० प्रतिशत सहभागिताको प्रस्ताव अघि सारेको थियो। रास्वपाका एक नेताका अनुसार,
“कुलमानसँग पहिले नै संवाद भइसकेको थियो। यस्तो अवस्थामा अहिले नै अडान कडा नबनाऔं भन्ने हाम्रो बुझाइ थियो।”
रास्वपाले विवेकशील साझा पार्टीलाई एकीकरणमा ल्याएपछि गत १४ मंसिरमा बालेनले कुलमानसँग भेट गरेका थिए। त्यस भेटमा बालेनले उज्यालो नेपाल पार्टीमा आबद्ध भएर सहकार्य गर्ने आश्वासन दिएका थिए। त्यसपछि दुईजनाको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै कुलमानले ‘देश बनाउने अभियानमा सँगै छौं’ लेखेका थिए।
तर, बालेनले रास्वपासँग छुट्टै समझदारी गर्न थालेपछि कुलमान असन्तुष्ट बनेका थिए। त्यसैक्रममा शनिबार बिहान ८ बजे फेरि उनीहरूबीच भेट भएको थियो। पोखरा जाने तय भएको कार्यक्रम रद्द गरेर कुलमान बालुवाटारमै संवादमा बसेका थिए।
यद्यपि हालको रास्वपा–बालेन समझदारीमा उज्यालो नेपाल पार्टी नसमेटिए पनि वैकल्पिक शक्ति एक ठाउँमा आउनुपर्ने बहस भने जारी छ। पार्टीका केन्द्रीय सदस्य सञ्जीव भट्टराई भन्छन्,
“आत्मसम्मानभन्दा अहिले राष्ट्रिय निकास महत्वपूर्ण हो। ठूलो तप्का मिलेर देशलाई राजनीतिक निकास दिनुपर्छ भन्ने मत पार्टीभित्र बलियो छ।”
रवि लामिछाने र बालेन शाहबीच भएको समझदारीमा पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिह्न ‘घन्टी’मा गोलबद्ध भएर लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिलाई आह्वान गर्ने उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया