इटहरी : इटहरी उपमहानगरपालिकाले एमबीबीएस डाक्टर नियुक्त गरी वडा नं. १२ खनारस्थित स्वास्थ्य चौकीमा पदस्थापन गरेको छ। उपमहानगरपालिकाको निर्णयअनुसार डा. अजय कुमार साहलाई आज मिति २०८२ पुस १३ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि खनार स्वास्थ्य चौकीमा कामकाज गर्न खटाइएको हो।
उपमहानगरपालिकाको प्रशासन तथा जनशक्ति विकास शाखामा कार्यरत मेडिकल अधिकृत (अधिकृत स्तर आठ) रहेका डा. साहलाई जिम्मेवारीसहित खनार स्वास्थ्य चौकीमा सरुवा गरिएको नगर कार्यपालिकाको कार्यालयले जनाएको छ।
नगरपालिकाका अनुसार स्थानीय नागरिकलाई सहज, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य चौकीमा एमबीबीएस डाक्टरको व्यवस्था गरिएको हो। यस निर्णयले खनार क्षेत्रका बासिन्दालाई विशेषज्ञ स्वास्थ्य सेवा लिन थप सुविधा पुग्ने इटहरी उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष भुवनराज पोखरेलले जानकारी दिनुभएको छ।




