इटहरी  । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनअघि पार्टी नेतृत्व परिवर्तन नभए आफू चुनाव नलड्ने स्पष्ट घोषणा गरेका छन्।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै महामन्त्री थापाले आम निर्वाचनअघि पार्टीको नेतृत्व अनिवार्य रूपमा परिवर्तन हुनुपर्नेमा जोड दिए। नेतृत्व परिवर्तनबिना कांग्रेस चुनावमा जान नसक्ने उनको ठहर छ।
बैठकमा थापाले भनेका छन्, “चुनावअघि पार्टी नेतृत्व परिवर्तन हुनैपर्छ। यदि नेतृत्व फेरिएन भने म चुनाव लड्दिनँ। नेतृत्व परिवर्तन नगरी चुनावमा जाने हो भने को–को लड्ने हो लड्नुस्, म चाहिँ लड्दिनँ।” एक पदाधिकारीले थापाको भनाइ उद्धृत गर्दै यस्तो जानकारी दिएका हुन्।
यसअघि कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरिसकेका छन्। केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै महामन्त्री शर्माले आफू लगातार तीन पटक प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार भइसकेकाले अब नयाँ पुस्तालाई अवसर दिनुपर्ने धारणा राखेका थिए।
उनले भनेका थिए, “लगातार तीन पटक उम्मेदवार बनिसकेकोले यो पटक आफू उम्मेदवार नबनेर अन्य साथीहरूलाई अघि सार्ने प्रस्ताव क्षेत्रबाट लिएर आएको छु।”
दुवै महामन्त्रीको यो अभिव्यक्तिलाई कांग्रेसभित्र नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहसलाई थप बल दिएको रूपमा हेरिएको छ। नेतृत्व परिवर्तनको मुद्दा उठिरहँदा कांग्रेसको आगामी रणनीति र नेतृत्व संरचना कस्तो बन्छ भन्ने विषयमा राजनीतिक वृत्तको ध्यान केन्द्रित भएको छ।

तपाईको प्रतिक्रिया