इटहरी। देशका तराई भू–भागमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही दिन कायम रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल सक्रिय मौसम प्रणाली कमजोर रहेकाले आगामी तीन दिनसम्म हुस्सु र कुहिरो हट्ने उल्लेख्य सम्भावना छैन ।
विभागले जारी गरेको बुलेटिनअनुसार कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा बिहान र बेलुकी बाक्लो हुस्सु तथा कुहिरो देखिने क्रम जारी रहनेछ । विशेषगरी कोशी प्रदेशका तराई भू–भागमा भोलि मध्याह्नसम्म र बाँकी तराई क्षेत्रमा दिनभर नै कुहिरो लाग्ने सम्भावना रहेको विभागले जनाएको छ ।
मौसमविद् हरिप्रसाद दाहालका अनुसार पश्चिमी वायु प्रणाली सक्रिय हुन नसक्दा र वर्षा गराउने प्रणाली नआएकाले वायुमण्डलमा प्रदूषक कण जमेर हुस्सु र कुहिरो बाक्लिँदै गएको हो । उनले भने, “आगामी तीन दिनमा मौसममा उल्लेख्य सुधार देखिँदैन, जसका कारण जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने देखिन्छ ।”
यसको प्रत्यक्ष प्रभाव तराईका प्रमुख राजमार्ग, आन्तरिक विमानस्थल र सीमा नाकामा देखिन थालेको छ । बिहानको समयमा दृश्यता निकै कम हुने भएकाले सवारी दुर्घटनाको जोखिम बढेको छ भने केही स्थानमा हवाई उडान पनि प्रभावित भएका छन् ।
यसैबीच, चिसो मौसमका कारण स्वास्थ्य समस्यासमेत बढ्न सक्ने भन्दै विभागले विशेष सावधानी अपनाउन आग्रह गरेको छ । बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगी तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरू बढी जोखिममा रहने उल्लेख गरिएको छ ।
मौसमविद्हरूले न्यानो लुगा लगाउन, अनावश्यक बिहानबेलुकाको यात्रा नगर्न, तातो खानेकुरा र झोलिलो पदार्थ सेवन गर्न तथा सवारी साधन चलाउँदा हेडलाइट र फग लाइट प्रयोग गर्न सुझाव दिएका छन् ।
उल्लेखनीय छ, मंगलबार बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यो वर्षकै सबैभन्दा कम ४.९ डिग्री सेल्सियस मापन गरिएको थियो । यसले देशभर चिसो बढ्दै गएको संकेत गरेको मौसमविद्हरूको भनाइ छ ।
जल तथा मौसम विज्ञान विभागले मौसमसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा अवलोकन गर्न र आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ ।






