इटहरी । जेन–जी आन्दोलनपछि विकसित नयाँ राजनीतिक परिवेश र आसन्न निर्वाचनलाई केन्द्रमा राख्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सहकार्यको सहमति भएको छ । सोमबार भएको दुई चरणको करिब ६ घण्टा लामो छलफलपछि उनीहरू वैकल्पिक राजनीतिक शक्तिहरूलाई एक ठाउँ ल्याउने निष्कर्षमा पुगेका हुन् ।
रास्वपा नेता असिम शाहको कमलपोखरीस्थित कार्यालयमा सोमबार साँझ करिब ७ बजेदेखि सुरु भएको वार्ता राति करिब डेढ बजेसम्म चलेको थियो । यसअघि सोमबार बिहान पनि दुवै नेताबीच भेटवार्ता भएको थियो । छलफलपछि रवि र बालेन एउटै गाडीमा बाहिरिएका थिए, जसलाई सहकार्यको स्पष्ट संकेतका रूपमा हेरिएको छ ।
रवि–बालेनलाई एउटै गाडीमा बिदा गरेपछि राति १ः४२ बजे रास्वपा नेता असिम शाहले सामाजिक सञ्जालमा लेखेका छन्,
“अन्ततः कथाको सुखद सुरुवात भएको छ । रवि र बालेन—दुई दाजु–भाइको मिलन भएको छ । यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो । हामी सबै नेपालीलाई बधाई ।”
असिम शाहका अनुसार लामो संवादपछि दुवै नेता मिलेर अघि बढ्ने निष्कर्षमा पुगेका छन् । “सामूहिक र व्यक्तिगत रूपमा पनि गहिरो संवाद भयो । निष्कर्ष मिलेर जाने, एक–अर्कालाई साथ दिने भन्ने नै हो,” उनले  भने ।
स्रोतका अनुसार छलफलमा निर्वाचनअघि सबै वैकल्पिक शक्तिलाई एकै ठाउँ ल्याउने, सहकार्यको ढाँचा, शक्ति बाँडफाँट र भावी राजनीतिक रणनीतिका विषयमा सघन संवाद भएको थियो । यसअघि पनि रास्वपाको संवाद समिति र मेयर शाहको टिमबीच पटक–पटक सहकार्यबारे छलफल हुँदै आएको थियो ।
न्यायिक आदेशबाट रिहा भएपछि सभापति लामिछानेले राजनीतिक भेटघाट र संवादलाई तीव्र बनाएका छन् । वैकल्पिक राजनीतिक ध्रुव निर्माणतर्फ यसलाई महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ । लामिछानेले वैकल्पिक शक्तिहरूबीच सहकार्यका लागि आफू सबै किसिमका त्याग गर्न तयार रहेको सन्देश यसअघि नै सार्वजनिक रूपमा दिइसकेका छन् ।
रास्वपा नेता गणेश कार्कीले नेतृत्व तहमा निर्णायक छलफल भइरहेको र सकारात्मक नतिजा आउने अपेक्षा रहेको बताए । “नयाँ शक्तिहरू मिल्नुपर्छ भन्ने विषयमा निरन्तर संवाद भइरहेको छ । नेतृत्व तहमा छलफल निर्णायक बन्दै गएको छ,” उनले भने ।
सोमबारको छलफलमा रास्वपा उपसभापति डिपी अर्याल, मेयर शाहका सहयोगी कुमार बेन र जेन–जी अगुवा सुदन गुरुङको समेत सहभागिता थियो । सहकार्यको मोडल टुंग्याउन अझै केही प्राविधिक विषयमा छलफल बाँकी रहेको सहभागी नेताहरूले बताएका छन् ।
वार्ताको समन्वय गरेका जेन–जी अगुवा सुदन गुरुङले दुवै नेता नयाँ शक्तिहरूको एकताका लागि पूर्ण रूपमा सकारात्मक रहेको बताए । “एजेन्डामा दुवै एकै ठाउँमा छन् । अब भूमिका, शक्ति सन्तुलन र संगठनात्मक संरचना मिलाउने चरणमा छलफल अघि बढेको छ,” उनले भने ।
रवि लामिछाने र बालेन शाहबीचको यो मिलनलाई वैकल्पिक राजनीतिक शक्तिहरूको एकताका लागि महत्वपूर्ण मोडका रूपमा हेरिएको छ । निर्वाचनअघि सबै नयाँ शक्तिहरू एक ठाउँ उभ्याउने प्रयास सफल भए नेपाली राजनीतिमा नयाँ ध्रुव निर्माण हुने अपेक्षा गरिएको छ ।

 

तपाईको प्रतिक्रिया