इटहरी । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–३ बाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले ‘यो मेरो अन्तिम पटक’ भन्दै मतदातासँग भोट मागेका थिए । भ्रष्टाचारसम्बन्धी मुद्दाको फैसला नटुंगिँदै चुनाव लडेका गच्छदार सो निर्वाचनमा एमालेकी भगवती चौधरीसँग पराजित भए ।
२०४८ यता निरन्तर चुनाव जित्दै आएका गच्छदार पराजित भएपछि अब उम्मेदवार नबन्ने अपेक्षा पार्टीभित्र व्यापक थियो । स्वयं उनले अन्तिम पटक भनेकाले पनि यसपटक नयाँ अनुहारले अवसर पाउने आशा कांग्रेसका अन्य नेताहरूले गरेका थिए । तीमध्ये एक थिए—उनकै भाइ वेद गच्छदार ।
दुहबी नगरपालिकामा दुई कार्यकाल मेयर भइसकेका वेद प्रतिनिधिसभामा उक्लिने तयारीमा थिए । तर दाजु विजय पुनः उम्मेदवार बन्ने इच्छासहित अघि बढेपछि उनीहरूको आकांक्षा ठोक्किन पुगेको छ । पार्टीका नेताहरूका अनुसार आगामी निर्वाचनका लागि सुनसरी–३ को क्षेत्रीय समितिमा विजय गच्छदारले आफ्नो नाम एकल सिफारिस गराउन दबाब दिएका थिए ।
क्षेत्रीय समितिका एक सदस्यका अनुसार पहिलो दिनको बैठकमै विजयले एकल नाम सिफारिसको आग्रह गरेका थिए । दाजुको पुनः सक्रियतापछि वेदले पनि आफ्नो नाम राख्न आग्रह गरे । कांग्रेसले स्थानीय तह र प्रदेशसभामा निर्वाचित पदाधिकारीलाई आसन्न निर्वाचनमा उम्मेदवार बन्न नपाउने मापदण्ड तोकेको भए पनि दुवै दाजुभाइले आ–आफ्नो दाबी नछाडेपछि विवाद चुलिएको हो ।
अन्ततः नेपाली कांग्रेस सुनसरी–३ क्षेत्रीय समितिले विजय र वेद गच्छदारसहित थप एक जनाको नाम जिल्ला समितिमा सिफारिस गरेको छ । पाँच पटक उपप्रधानमन्त्री र १२ पटक मन्त्री भइसकेका विजय गच्छदार २०४८ सालदेखि सो क्षेत्र नछाडेका प्रभावशाली नेता हुन् । कांग्रेसबाट टिकट नपाउँदा नयाँ पार्टीसम्म बनाएका उनी जीवनको उत्तरार्धमा पुग्दा पनि पुनः उम्मेदवार बन्ने आकांक्षामा देखिएका छन् ।
गच्छदार मात्र होइन, कोशी प्रदेशका अन्य क्षेत्रमा पनि पुरानै नेताहरूको वर्चस्व देखिएको छ । उदयपुर–१ बाट निरन्तर चुनाव लड्दै आएका नारायण खड्काले पनि आफ्नो एकल नाम सिफारिस गराउन दबाब दिएका थिए । ७९ वर्षका खड्काले २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा सोही क्षेत्रबाट निर्वाचन लडेका छन् । क्षेत्रीय समितिले भने उनीसहित अन्य आकांक्षीको नाम पनि जिल्लामा पठाएको छ ।
सोलुखुम्बुमा यसपटक पनि बलबहादुर केसी उम्मेदवार बन्ने दौडमा छन् । उनी स्वयं पुनः उम्मेदवार बन्न अडान लिएपछि विवाद उत्पन्न भएको थियो । विवाद चर्किएपछि केसी बैठक नै छाडेर काठमाडौं हिँडेपछि सिफारिस प्रक्रिया अनिश्चित बनेको कांग्रेस सोलुखुम्बुले जनाएको छ ।
नेपाली कांग्रेस केन्द्रीय समितिले मंसिर २३ गतेभित्र उम्मेदवार सिफारिस गर्न क्षेत्रीय समितिहरूलाई सर्कुलर जारी गरेको थियो । सोहीअनुसार कोशी प्रदेशका अधिकांश क्षेत्रीय समितिले आगामी निर्वाचनका लागि पुरानै अनुहारहरूलाई प्राथमिकतासाथ सिफारिस गरेका छन् ।
यसले पार्टीभित्र ‘पुस्तान्तरण’ को बहसलाई थप चर्काएको छ । प्रतिनिधिसभा र प्रदेशसभामा पटक–पटक निर्वाचित र मन्त्री भइसकेकाहरू नै फेरि सिफारिसमा परेपछि युवा पुस्ता असन्तुष्ट बनेको छ ।
कांग्रेसका एक युवा नेताले भने, “जेन–जी आन्दोलनपछि पार्टी सुध्रिने र पुस्ता हस्तान्तरण हुने भनियो । तर उम्मेदवार सिफारिस हेर्दा उही अनुहार फेरि मत माग्न आउने संकेत देखियो ।”
यद्यपि कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाले सबै सिफारिस विधिसम्मत भएको दाबी गरेका छन् । “सबैको नाम प्रक्रिया अनुसार आएको हो । पुराना मात्रै होइन, युवाहरूका नाम पनि सिफारिस भएका छन् । अन्तिम निर्णय केन्द्रले गर्छ,” उनले भने ।
को–को भए पुराना नेता सिफारिसमा?
- मोरङ–४: पूर्वअर्थ तथा वनमन्त्री महेश आचार्य
- मोरङ–६: डा. शेखर कोइराला (एकल सिफारिस)
- सुनसरी–४: ज्ञानेन्द्रबहादुर कार्की
- संखुवासभा: दीपक खड्का
- मोरङ–१: डिगबहादुर लिम्बू
- इलाम–२: डम्बरबहादुर खड्का
- तेह्रथुम: सीता गुरुङ
यी नामहरूले कोशी प्रदेशमा कांग्रेसको टिकट दौडमा पुरानै नेतृत्वको दबदबा कायमै रहेको देखाउँछन् । पार्टीभित्र पुस्तान्तरणको बहस चलिरहँदा अन्तिम निर्णय केन्द्रीय नेतृत्वले कसरी गर्छ भन्ने चासो बढ्दो छ ।





