इटहरी /नेपालमा कुल मृत्युको ७१ प्रतिशत हिस्सा नसर्ने रोग (NCDs) का कारण हुने र तीमध्ये करिब २० प्रतिशत मृत्यु समयअगावै (अल्पायुमा) हुने तथ्यांक सार्वजनिक भएको छ। यही जोखिमलाई मध्यनजर गर्दै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (BPKIHS) ले प्राथमिक तहमा प्रयोग भइरहेका नसर्ने रोग व्यवस्थापनसम्बन्धी पुस्तिका तथा तालिम सामग्री अद्यावधिक गर्न परामर्श कार्यशाला (Consultation Workshop) सम्पन्न गरेको हो।

कार्यशालाको आयोजन केएचडीसी (KHDC) कार्यक्रमले एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, जेनेभा युनिभर्सिटी हस्पिटल र केएचडीसीको सहकार्यमा गरेको थियो। प्रतिष्ठानका उपकुलपति प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ को अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघ, प्रदेश, स्थानीय तहका प्रतिनिधि तथा विषय विज्ञहरूको सक्रिय सहभागिता रहेको थियो।

प्रमुख निष्कर्ष

कार्यशालामा विज्ञहरूले पुस्तिका तथा तालिम सामग्रीलाई अझ व्यवहारिक, समुदायमै लागू गर्न सकिने, तथा स्वास्थ्यकर्मीमैत्री बनाउनका लागि विस्तृत सुझावहरू प्रस्तुत गरे।
सामग्री मुख्यतः—

  • इस्केमिक मुटु रोग
  • मुटुको विफलता
  • दीर्घ मृगौला रोग
    जस्ता समस्याको प्राथमिक तहमा पहिचान र व्यवस्थापनमा केन्द्रित छन्।

“नसर्ने रोग लक्षणविहीन हुन्छन्, जटिलता एक्कासि बढ्छ”

प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. संजीवकुमार शर्मा ले नसर्ने रोगहरू प्रायः लक्षणविहीन रूपमा विकसित हुने भएकाले प्राथमिक तहमै नियमित स्क्रिनिङ, शीघ्र पहिचाननियमित अनुगमन अपरिहार्य रहेको बताए। उनले स्थानीय तहले जिम्मेवारीसहित दीर्घकालीन कार्यक्रम संचालन गर्नुपर्नेमा पनि जोड दिए।

पूर्वी नेपालमा दुई दशकदेखि सक्रिय कार्यक्रम

केएचडीसी कार्यक्रम सन् २००३ देखि पूर्वी नेपालमा समुदाय–केन्द्रित रूपमा—

  • उच्च रक्तचाप
  • मधुमेह
  • मुटु–सम्बन्धी समस्या
  • दीर्घ मृगौला रोग
    को जोखिम पहिचान र व्यवस्थापन गर्दै आएको छ।

हाल कार्यक्रम सन् २०२३–२०२७ का लागि फुङलिङ, मेचनगर र दमक नगरपालिकामा सञ्चालनमा छ। अघिल्लो आर्थिक वर्षमा मात्र १४,१४६ जना उच्च जोखिम समूहको स्वास्थ्य परीक्षण गरिएको प्रतिवेदनमा उल्लेख छ।

पुस्तिका परिमार्जनपछि देशभरका स्वास्थ्यकर्मीलाई वितरण

प्रतिष्ठानकी प्रवक्ता प्रा.डा. अन्जु प्रधान का अनुसार, पुस्तिका तथा तालिम सामग्री अद्यावधिक भएपछि प्राथमिक तहका स्वास्थ्यकर्मीलाई वितरण गरिनेछ। यसले—

  • समुदायमा लुकेका रोगीको पहिचान
  • जटिलता रोकथाम
  • अकाल मृत्यु न्यूनीकरण
    मा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ।

 

तपाईको प्रतिक्रिया