इटहरी  । सुनसरीको रामधुनी नगरपालिकामा गत दशैँ लगत्तै सिटी सफारी चालक दिनेश कुमार चौधरीको गोली हानी हत्या गर्ने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये हत्याका मुख्य योजनाकार तथा सुपारीदातासमेत समेटिएका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशव कुमार थेबेका अनुसार पुरानो रिसइबीका कारण योजनाबद्ध रूपमा चौधरीको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पक्राउ पर्नेहरूमा राजेश साह,नन्दकिशोर साह,मोहम्मद इव्रान मियाँ,अङ्कित साह,प्रिन्स कुमार दास,गियास मन्सुरी र मिथिलेश यादव समेत रहेका छन्।

अनुसन्धान अनुसार राजेश साहको मृतक चौधरीसँग लामो समयदेखि व्यक्तिगत र खानापिनाको रिसइबी थियो। सोही रिसइबीको बदला लिन उनले योजनाबद्ध रूपमा हत्या गराउने निर्णय गरेका थिए।

६ लाख ५० हजारको सुपारी

प्रहरीका अनुसार राजेश साहले चौधरीको हत्या गराउन ६ लाख ५० हजार रुपैयाँमा ‘डिल’ गरेका थिए।
सो अभियान अघि बढाउन उनले मोहम्मद इव्रान मियाँलाई ३ लाख रुपैयाँ पेस्कीसमेत दिएका थिए। बाँकी रकम हत्या सम्पन्न भएपछि तिर्ने सहमति भएको प्रारम्भिक बयानबाट खुलेको छ।

सुपारी पाएसँगै इव्रान मियाँले अन्य साथीहरूको सहायतामा सुटर परिचालन गरेका थिए। दशैँपछिको साँझ चौधरीलाई गोली हानी हत्या गरिएको थियो।
प्रहरीले घटनामा प्रयोग भएको हतियार, सञ्चारका साधन तथा अन्य प्रमाणहरू संकलन गरी थप अनुसन्धान अगाडि बढाएको छ।

तपाईको प्रतिक्रिया