
इटहरी । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण सेयर (IPO) विक्री खुला गरेको छ। कम्पनीले एक लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकताका साथ विक्री गर्न लागेको हो।
विदेशमा रहेका नेपालीले न्यूनतम ५० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। उक्त सेयरमा मङ्सिर २५ गतेसम्म आवेदन दिन सकिनेछ भने आवश्यक्ताअनुसार अवधि पुस ७ गतेसम्म बढाइने व्यवस्था कम्पनीले गरेको छ।
धितोपत्र बोर्डमा दर्ता भएका सबै आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालय तथा ‘मेरो सेयर’ एपमार्फत ऑनलाइन आवेदन दिन सकिनेछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आईएमई क्यापिटलले संचालन गर्दै आएको छ। कम्पनीले रु एक अर्ब १० करोडको जारी पुँजीमध्ये १०.४४ प्रतिशत अर्थात् रु ११ करोड २६ लाख ६० हजार बराबरका ११ लाख २६ हजार ६०० कित्ता सेयरमध्ये ११ लाख ५५ हजार ९६० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो।
यस साधारण सेयरमध्ये १० प्रतिशत अर्थात् एक लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएका छन्। आजदेखि सम्बन्धित नेपालीले आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ।
रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भोलिको आर्थिक सुरक्षासँग जोड्ने अवसर स्वरूप सेयर विक्री प्रक्रिया अघि बढाएको जनाएको छ।





