
इटहरी उपमहानगरपालिका–२ की ३५ वर्षीया मञ्जु पौडेल निरौला सर्दु जलाधारअन्तर्गतको खोल्सामा मृत अवस्थामा फेला परेकी छन्। घटनास्थलको अवस्था शंकास्पद देखिएकाले प्रहरीले प्रारम्भिक निष्कर्ष ननिकाली विस्तृत अनुसन्धान अघि बढाएको छ।
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालका अनुसार स्थानीयले बिहान खोल्सामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलको प्रारम्भिक अनुगमनपछि घटनाको प्रकृति सामान्य नभएको प्रहरीको भनाइ छ।
गत कार्तिक २४ गते बिहान साढे ८ बजे घरबाट निस्किएकी पौडेल घर नफर्केपछि उनका परिवारजनले त्यही दिन इलाका प्रहरी कार्यालय इटहरीमा खोजीका लागि लिखित निवेदन दिएका थिए। परिवारले बेपत्ता भएको जानकारी दिएलगत्तै प्रहरीले खोजतलास थालेको थियो।
प्रहरीले घटनास्थलबाट आवश्यक प्रमाण संकलन गरी शव पोष्टमार्टमका लागि पठाएको छ। घटनाबारे सत्यतथ्य पुष्टिका लागि प्रहरीले परिवारजन, स्थानीयवासी र सम्भावित प्रत्यक्षदर्शी सहितको बयान संकलन कार्य अघि बढाएको जनाएको छ।
प्रहरीले यसलाई संवेदनशील घटना मानेर सबै कोणबाट अनुसन्धान गरिरहेको तथा प्राप्त हुने प्रमाण र प्रतिवेदनका आधारमा आवश्यक कानुनी कदम चालिने समेत जनाएको छ।





